Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वप्रधानमन्त्री देउवाले छाडे प्रत्यक्ष राजनीति, फागुन २१ को निर्वाचनमा उम्मेदवार नहुने

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, ०८ : २४ मा प्रकाशित

पूर्वप्रधानमन्त्री देउवाले छाडे प्रत्यक्ष राजनीति, फागुन २१ को निर्वाचनमा उम्मेदवार नहुने

नेपाली कांग्रेसका पूर्व सभापति तथा चारपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन्। फागुन २१ गतेका लागि तय निर्वाचन प्रक्रियाअघि देउवाको सचिवालयमार्फत उनले चुनावी प्रतिस्पर्धाबाट अलग रहने स्पष्ट सन्देश दिएको हो।

भानु देउवाले सार्वजनिक गरेको जानकारी अनुसार पार्टीका पूर्व सभापति देउवा यसपटक उम्मेदवारको रूपमा मैदानमा नउत्रिने भएका हुन्। लामो समयदेखि सक्रिय संसदीय राजनीतिमा रहेका देउवाले अब प्रत्यक्ष भूमिकाभन्दा अभिभावकीय हैसियतमा पार्टीलाई मार्गदर्शन गर्ने तयारी गरेका छन्।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले देउवालाई संरक्षकको भूमिकामा रहन आग्रह गर्दै आएको थियो। सोही अनुरूप उम्मेदवारी दर्ता सुरु हुनु अघि नै उनले चुनाव नलड्ने निर्णय औपचारिक रूपमा जानकारी गराएका हुन्।

डडेल्धुराबाट २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका देउवा सो क्षेत्रबाट सातपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन्। उनको यो निर्णयसँगै कांग्रेसको पुरानो शक्ति सन्तुलनमा उल्लेख्य परिवर्तन आउने संकेत देखिएको छ।

देउवाको उम्मेदवारी नहुने निर्णयसँगै उनकी पत्नी आरजु राणा देउवा पनि यसपटक पार्टी टिकटबाट वञ्चित भएकी छन्। कैलाली–५ बाट कांग्रेसले नारायण शाहलाई उम्मेदवार बनाएको छ।

यसैबीच, नेपाली कांग्रेसले देशभरका विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ। पार्टीका अनुसार रुकुम पूर्वबाट कुसुम थापा मगर, रोल्पाबाट सुदनकुमार ओली, प्युठानबाट डा. गोविन्दराज पोखरेल, दाङ–१ बाट योगेन्द्र चौधरी, दाङ–२ बाट किरणकिशोर घिमिरे, दाङ–३ बाट दिपक गिरी, पाल्पा–१ बाट सन्दीप राना र पाल्पा–२ बाट हिमालदत्त श्रेष्ठ उम्मेदवार तोकिएका वर्णन गरिएको छ।

यस्तै, हुम्लाबाट जयपति रोकाया, मुगुबाट खड्गबहादुर शाही, जुम्लाबाट दीपबहादुर शाही, कालीकोटबाट हर्षबहादुर बम, डोल्पाबाट कर्णबहादुर बुढा, सल्यानबाट केशबहादुर विष्ट, दैलेख–१ बाट वाषना थापा, दैलेख–२ बाट दिक्पाल शाही तथा सुर्खेत–२ बाट नारायण कोइरालाको नाम अघि सारिएको छ।

पूर्वी पहाडी जिल्लातर्फ ताप्लेजुङबाट गजेन्द्र मुम्मेह्याङ, पाँचथरबाट नरेन्द्र केरुङ, इलाम–१ बाट निश्कल राई, इलाम–२ बाट भेषराज आचार्य, धनकुटाबाट दिनेश राई, तेह्रथुमबाट सन्तोष सुब्बा, खोटाङबाट विरकाजी राई, ओखलढुंगाबाट रामहरि खतिवडा, सोलुखुम्बुबाट प्रकाशसिंह कार्की तथा उदयपुर–१ बाट विदुर बस्नेत र उदयपुर–२ बाट रामकुमार राई उम्मेदवार चयन भएका छन्।

तराई र मध्य क्षेत्रतर्फ मोरङ–३ बाट डा. सुनिल शर्मा, सुनसरी–३ बाट विजय गच्छदार, सुनसरी–४ बाट ज्ञानेन्द्रबहादुर कार्की, सप्तरी–१ बाट रामदेव साह, सप्तरी–२ बाट रामकुमार यादव, सप्तरी–३ बाट दिनेश यादव, सप्तरी–४ बाट तेजुलाल चौधरी, धनुषा–१ बाट मुक्ता कुमारी यादव र धनुषा–३ बाट विमलेन्द्र निधि उम्मेदवार बनाइएका छन्।

यस्तै, काठमाडौं उपत्यका आसपास ललितपुर–१ बाट उदय शमशेर राणा, नुवाकोट–१ बाट डा. प्रकाशशरण महत, नुवाकोट–२ बाट जगदीश्वरनरसिंह केसी, काभ्रे–२ बाट मधु आचार्य र धादिङ–२ बाट रमेश धमलाको नाम समावेश गरिएको छ।

सुदूरपश्चिमतर्फ दार्चुलाबाट धर्मानन्द जोशी, बैतडीबाट चतुरबहादुर चन्द, बाजुराबाट जनकराज गिरी, बझाङबाट प्रकाश स्नेही रसाइली, डोटीबाट भरतबहादुर खड्का, अछाम–१ बाट भरत स्वार, अछाम–२ बाट पुष्पबहादुर शाह, कञ्चनपुर–१ बाट गोपी उपाध्याय, कञ्चनपुर–२ बाट एनपी साउद तथा कैलालीका विभिन्न क्षेत्रबाट जनकराज चौधरी, विजय स्वार, भरत बडुवाल, वीरबहादुर बलायर र नरनारायण शाह उम्मेदवार घोषणा गरिएको कांग्रेसले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको