नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी नेतृत्वलाई राजीनामा दिनेभन्दा चाँडो महाधिवेशनमा जाने निर्णय गर्नु उपयुक्त हुने बताएका छन्।
भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेसका सभापति गगन थापाले नैतिकताको नाममा पद त्याग गर्नेभन्दा संगठनलाई सुदृढ बनाउन महाधिवेशनतर्फ अघि बढ्नु नै जिम्मेवार र समयसापेक्ष कदम हुने बताएका हुन्।
उनले हालसम्म सम्पन्न भएको कांग्रेसको चुनाव अधिवेशनका लागि बनेको नियमित प्रक्रिया अन्तर्गत नभएको उल्लेख गर्दै अब पार्टीलाई व्यवस्थित ढंगले अगाडि बढाउन महाधिवेशनमार्फत् नेतृत्व र नीतिमा स्पष्टता ल्याउनुपर्ने धारणा व्यक्त गरेका छन्।
भण्डारीले अहिलेको अवस्थामा कांग्रेसलाई जोगाउनु नै सबैभन्दा ठूलो नैतिक दायित्व भएको पनि बताएका छन्। उनका अनुसार पछिल्लो समय युवापुस्ताले कांग्रेसबाट दूरी बढाइरहेको अवस्था देखिएकाले यस्तो बेला नेतृत्वले पार्टी छोड्ने होइन, बरु सुधार र उपचारमार्फत संगठनलाई मजबुत बनाउनुपर्ने आवश्यकता छ।
नेता भण्डारीले नेपाली राजनीतिमा नैतिकता कमजोर बन्दै गएको यथार्थतर्फ संकेत गर्दै नयाँ सोच, नयाँ नेतृत्व र नयाँ ऊर्जा आवश्यक रहेको बताएका छन्। समस्या देखेर पछि हट्नु भन्दा समाधान खोज्दै संगठनलाई जोगाउनु नै सच्चा नेतृत्वको कर्तव्य भएको उनको भनाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस