Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस नेता दीपक खड्काद्वारा मनोनयन दर्तामा सहभागिताका लागि आग्रह

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, ०७ : ३८ मा प्रकाशित

कांग्रेस नेता दीपक खड्काद्वारा मनोनयन दर्तामा सहभागिताका लागि आग्रह

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले आफ्नो राजनीतिक आस्था र प्रतिबद्धता स्पष्ट पार्दै आफू बीपी कोइरालाको विचारधाराबाट प्रेरित भएर राजनीतिमा प्रवेश गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले कांग्रेसको ऐतिहासिक पहिचान र चुनाव चिन्हप्रति पूर्ण निष्ठा रहेको उल्लेख गरेका हुन्।

आगामी आम निर्वाचनका लागि मनोनयन दर्ताको मिति नजिकिँदै गर्दा खड्काले पार्टी पंक्ति र मतदातालाई सक्रिय सहभागिताको आह्वान गरेका छन्। उनले कांग्रेस स्थापना गर्ने बीपी कोइरालाले दिएको राजनीतिक दर्शन, रुख चुनाव चिन्ह र चारतारे झन्डाबाहेक अरू कुनै विकल्पको कल्पना समेत गर्न नसकिने धारणा व्यक्त गरेका छन्।

मनोनयन दर्ता कार्यक्रम भोलि माघ ६ गते तय भएको जनाउँदै खड्काले काठमाडौं तथा सङ्खुवासभा क्षेत्रमा रहेका नेता–कार्यकर्ता र समर्थकहरूलाई खाँदबारीस्थित नेपाली कांग्रेसको जिल्ला कार्यालयमा बिहान १० बजे उपस्थित हुन अनुरोध गरेका छन्। त्यहाँबाट संयुक्त रूपमा निर्वाचन कार्यालय पुगेर मनोनयन प्रक्रियामा सहभागी हुन उनले आग्रह गरेका हुन्।

साथै, खड्काले सङ्खुवासभा क्षेत्रका सम्पूर्ण मतदाता तथा कांग्रेसजनलाई रुख चिन्हमा मतदान गर्न र गराउन सक्रिय भूमिका खेल्न अपिल गरेका छन्। पार्टीको ऐतिहासिक विरासत र लोकतान्त्रिक आन्दोलनप्रति आफ्नो अटुट विश्वास कायमै रहेको उनको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको