नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरुले पछिल्ला वर्षहरुमा पाउने बोनस रकममा उल्लेख्य गिरावट आएको देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेप्सेका कर्मचारीहरुले २ करोड ४३ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पाएको १ करोड ३२ लाख रुपैयाँको तुलनामा केही वृद्धि भए पनि त्यसअघिका वर्षहरुको तुलनामा उल्लेखनीय रुपमा कम हो ।
आर्थिक वर्ष २०७९/८० मा नेप्सेका कर्मचारीहरुले ५ करोड २३ लाख रुपैयाँ बोनस पाएका थिए भने २०७८÷७९ मा यो रकम ८ करोड ८२ लाख रुपैयाँ पुगेको थियो । ४ वर्षको अवधिमा बोनस रकममा आएको उतारचढाव नेप्सेको नाफा, कारोबार अवस्था तथा बोनस वितरण नीतिमा आएको परिवर्तनले हो । बोनस ऐन, २०३० तथा बोनस नियमावली, २०३९ को नियम ६ अनुसार आयकर व्यवस्था अधिको खुद नाफाको १ प्रतिशत रकम बोनसका लागि छुट्याई खर्च लेख्ने व्यवस्था छ । अर्थ मन्त्रालयको निर्देशनअनुसार नेप्सेले हालसम्म यही १ प्रतिशत बोनस व्यवस्था लागू गर्दै आएको छ ।
तर बोनस दरको विषयमा कानुनी विवाद पनि चलिरहेको छ । श्रम अदालतले गत असार ५ गते नेप्सेमा ५ प्रतिशत बोनस व्यवस्था लागू गर्नुपर्ने फैसला गरेको थियो । तर उक्त फैसलाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कात्तिक ३० गते श्रम अदालतको फैसला कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि नेप्सेले १ प्रतिशत बोनस व्यवस्था नै कायम राखेको छ ।
बोनस रकममा आएको गिरावटले कर्मचारीहरुको मनोबलमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ । यद्यपि, नेप्से व्यवस्थापनले कानुनी प्रक्रिया टुंगो नलागेसम्म विद्यमान व्यवस्था अनुसार नै बोनस वितरण गरिने बताउँदै आएको छ । कम्पनीले गत वर्ष कर तिर्नु अघि २ अर्ब ४६ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष उक्त आम्दानी १ अर्ब ३२ करोड थियो । यता, आर्थिक वर्ष २०८१/८२ मा नेप्सेले १ अर्ब ८० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोह अवधिको तुलनामा ७८ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले १ अर्ब १ करोड ३७ लाख नाफा आर्जन गरेको थियो । नेप्सेको धितोपत्र कारोबारबाट २ अर्ब ७४ करोड ३ लाख आम्दानी गरेको छ । यो आम्दानी गत वर्ष १ अर्ब ५ करोड थियो । साथै, संगठीत सदस्यलाई दिएको सेवाबाट हुने आम्दानी १४ करोड ७२ लाखबाट घटेर ९ करोड ९४ लाख रुपैयाँ कायम भएको छ ।
धितोपत्र कारोबारबाट हुने आम्दानी बढेसँगै नाफामा सुधार आएको हो । नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने सञ्चति मुनाफा २ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यता, अन्य पुँजी तथा कोषमा भने ४ अर्ब ८९ करोड जम्मा छ । यसको प्रतिसेयर आम्दानी १००.३७ रुपैयाँबाट बढेर १८०.२६ रुपैयाँ पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस