प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता डा. बाबुराम भट्टराईले गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सहयोग पाउने विश्वास व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गोरखामा पत्रकारहरूसँग कुरा गर्दै रास्वपाले आफूलाई अभिभावकका रूपमा हेर्ने गरेको बताए।
चुनाव लड्ने निर्णय हालै मात्र गरेको उल्लेख गर्दै उनले मतपरिणामबारे अहिलेसम्म कुनै मूल्याङ्कन नगरिएको स्पष्ट पारे। साथै, सहयोगका विषयमा अन्य दलहरूसँग हालसम्म कुनै छलफल नभएको पनि उनले बताए। हिजो नयाँ शक्ति लगायतका दलहरू मिलेर हाल प्रलोपा गठन भए पनि औपचारिक रूपमा पार्टीको कार्यकारी भूमिकामा आफू नरहेको भट्टराईको भनाइ छ।
उनले भने, ‘६४ देखि निरन्तर साथीहरूले उठ भनेको बेलामा उठेको छु, नउठ् भनेको बेलामा छोडेको पनि छु। अहिले उठ् भनेकोले उठेको छु। यो मेरो रुचिको र मेरो मात्रै चाहनाको कुरा होइन, आवश्यकताको कुरा हो। फेरि मतदाताले निर्णय गर्ने कुरा हो। अहिले त मैले कसैसँग पनि कुरा गरेको छैन। मैले पहिले पनि कुरा हुँदाखेरि रास्वपाका साथीहरूले हाम्रो अभिभावक तपाईँ नै हो भनेर रविजी लगायतका साथीहरूले भन्ने पनि गर्नुहुन्थ्यो। विचारले मात्रै होइन, तपाईँ जस्तो परिपक्व मान्छे त संसद्मा नै हुनुपर्छ भन्ने उहाँहरूको बुझाइ छ। अहिले नयाँ दलहरू थुप्रै दलहरू, अरू पनि साथीहरूको पनि छ। उहाँहरूले पनि हाम्रो अभिभावक नै भन्नुहुन्छ। मलाई त सबै पक्षका साथीहरूले गर्नुहुन्छ जस्तो लाग्छ अहिले मलाई। मैले घोषणा गर्ने बित्तिकै पनि गाउँका साथीहरूले, खुसी लाग्यो, तपाईँ उठ्नु भएको छ। अब हामी दल भित्र छौँ, अब कस्तो गर्छ, जे भएपनि हामी सुरक्षित छौँ है भन्ने खालको सन्देश पनि सुनिसकेको छु।’
यो क्षेत्र रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीको हो। यहाँ एमालेले चक्रे मिलन र नेकपाले लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस