Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्र: रास्वपाबाट को–को बने उम्मेदवार?

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, १४ : २६ मा प्रकाशित

काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्र: रास्वपाबाट को–को बने उम्मेदवार?

आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू टुंगो लगाएको छ। आज मनोनयन दर्ताका लागि उम्मेदवारहरू निर्वाचन कार्यालय पुग्न सुरु गरेका छन्।

पार्टीले काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारको निर्णय गरेको छ। यस पटक रास्वपाले पुराना प्रभावशाली सांसदहरूलाई दोहोर्याउनुका साथै काठमाडौं महानगरका मेयर बालेन शाह नजिकका व्यक्तिहरूलाई प्राथमिकता दिएको छ।

काठमाडौंका १० क्षेत्रमध्ये रास्वपाले अघिल्लो निर्वाचनमा जितेका तीनजना सांसदलाई पुरानै क्षेत्रमा निरन्तरता दिएको छ ।

क्षेत्र नम्बर ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली र ८ बाट विराजभक्त श्रेष्ठले पुनः टिकट पाएका छन् । तर, क्षेत्र नम्बर २ बाट विजयी भएकी सोविता गौतमलाई भने यसपटक चितवन–३ मा पठाइएको छ । काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना उम्मेदवार बनेकी छन् ।  काठमाडौं २ मा सुनील केसीले टिकट पाएका छन् । काठमाडौं ३ मा महानगरका पूर्वनगरप्रहरी प्रमुख राजु पाण्डे उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर ५ मा बालेनको सचिवालयमा रहेका सस्मित पोखरेलले टिकट पाएका छन् ।  क्षेत्र नम्बर ४ मा अभियन्ता पुकार बमले टिकट पाएका छन् । क्षेत्र नम्बर ९ मा उपसभापति डीपी अर्याल  छन्। क्षेत्र नम्बर १० मा भने यसअघि पनि प्रतिस्पर्धा गरेका प्रदीप विष्ट नै उम्मेदवार बनेका छन् ।

ललितपुरको क्षेत्र नम्बर ३ मा डा. तोसिमा कार्कीले नै निरन्तरता पाएकी छन् । ललितपुर २ मा सञ्चारमन्त्रीबाट राजीनामा दिएका जगदिश खरेल उम्मेदवार बन्ने भएका छन् । बुद्धरत्न महर्जनलाई क्षेत्र नम्बर १ मा सारिएको छ । भक्तपुरतर्फ क्षेत्र नम्बर १ मा जिल्ला सचिव रुकेश रञ्जित उम्मेदवार बन्दा क्षेत्र नम्बर २ मा राजीव खत्रीले टिकट पाएका छन्। खत्रीलाई एमाले नेता महेश बस्नेतको मुख्य प्रतिस्पर्धीका रूपमा रास्वपाले अघि सारेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको