नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन्।
बैठकमा बोल्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्ने प्रबल सम्भावना रहेको बताएका छन्। उनले २० वटा दललाई समेटेर पार्टी एकीकरण गरिए पनि सबै पक्षको प्रतिनिधित्व हुने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा पनि विशेष ध्यान दिइएको स्पष्ट पारे। गोरखामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि त्यहाँ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जित लगभग सुनिश्चित भएको संयोजक प्रचण्डको भनाइ थियो।
उनले उम्मेदवारी फिर्ता तथा डा. भट्टराईसँग भएका संवादपछि अब डा. भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गरे। जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार चयन गरिएकाले नेकपाका उम्मेदवारहरूले निर्वाचनमा सकारात्मक नतिजा ल्याउने विश्वास उनले व्यक्त गरे। संयोजक प्रचण्डले जेन्जी आन्दोलन र त्यसपछिका घटनाक्रममा पार्टीले लिएको पहलका कारण नेपाली कम्युनिष्ट पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अन्य पुराना दलको तुलनामा अझ सकारात्मक बनेको दाबीसमेत गरे।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको प्रारम्भिक उत्साह त्यहाँका उम्मेदवारहरूको गतिविधिका कारण क्रमशः कमजोर हुँदै गएको र उनीहरूका गतिविधिलाई जनताले गहिरो रूपमा नियालिरहेको उनले बताए। मनोनयनपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढिरहेका छन् भन्ने विषय सार्वजनिक हुँदै जाँदा त्यसतर्फ बगेको जनसमर्थन पनि बिस्तारै कमजोर बन्दै गएको उनले उल्लेख गरे। पार्टीले दिएका उम्मेदवारविरुद्ध देखिएका अधिकांश असन्तुष्टिहरू संवादमार्फत समाधान गरिएको र नमिलेका एक–दुई स्थानमा अनुशासनात्मक कारबाहीका माध्यमबाट क्रमशः समाधान हुँदै गएको उल्लेख गर्दै उनले निर्वाचनको नतिजा पार्टीकै पक्षमा आउने र आवश्यक मेहनत गरे पहिलो दल बन्न सकिने विश्वास व्यक्त गरे।
बैठकले बेदुराम भुसाललाई राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त गरेको छ। त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचन उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टोली गठन गरिएको पार्टीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस