प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको आशंकामा विभिन्न राजनीतिक दलका नेता तथा उम्मेदवारसँग स्पष्टीकरण सोध्न थालेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि माघ ४ गतेदेखि लागू गरिएको आचारसंहिता लागू भएको १० दिन नबित्दै थुप्रै जनासँग लिखित जवाफ मागिएको आयोगले जनाएको छ।
आयोगका अनुसार स्पष्टीकरणको दायरामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) लगायत चर्चित नामहरू समावेश छन्। यसै सूचीमा नेकपा नेता शक्ति बस्नेत, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, जनसेवा पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं–४ का उम्मेदवार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी पनि परेका छन्।
कसलाई के आरोप ?
रास्वपाका वरिष्ठ नेता बालेनमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत दिएको टिप्पणीलाई लिएर उजुरी परेको छ। झापा–५ मा चुनावी प्रतिस्पर्धामा रहेका यी दुई नेताबीच सार्वजनिक बहसको विषय चर्चामा आएपछि बालेनले दिएको कडा प्रतिक्रिया विवादमा परेको थियो। सोही विषयमा आयोगले स्पष्टीकरण मागेको हो। एमाले सचिव महेश बस्नेतमाथि भने बालेनको अभिव्यक्तिलाई लिएर मैथिली भाषाको शब्दलाई फरक अर्थमा व्याख्या गरी समुदायप्रति अपमानजनक टिप्पणी गरेको आरोप लागेको छ। यस विषयमा उजुरी परेपछि आयोगले जवाफ मागेको हो, यद्यपि बस्नेतले पछि सार्वजनिक रूपमा माफी मागिसकेका छन्।
नेकपाका नेता शक्ति बस्नेतमाथि मनोनयन दर्ताका क्रममा बाजा बजाउने व्यक्तिहरूलाई रकम दिएको देखिने भिडियो सार्वजनिक भएपछि उजुरी परेको थियो। भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीमाथि एमाले अध्यक्ष ओलीको मनोनयन कार्यक्रममा सरकारी सवारी साधन प्रयोग गरेको आरोप लागेको छ। यही विषयमा आयोगले आचारसंहिता उल्लंघनको सम्भावनाबारे स्पष्टिकरण मागेको जनाएको छ।
सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङमाथि चुनावी प्रचारका क्रममा बालबालिका प्रयोग गरिएको तथा प्रचार सामग्री आचारसंहिता विपरीत रहेको आरोप छ। उजुरी परेपछि आयोगले उनीसँग पनि जवाफ मागेको हो। निकोलस भुसालमाथि आन्दोलनका क्रममा प्रयोग गरिएको रगतले लतपतिएको जुत्ताको तस्वीरलाई चुनावी प्रचारमा प्रयोग गरेको आरोप लागेको छ। उक्त जुत्तालाई चुनाव चिह्नसरह प्रयोग गरिएको भन्दै आयोगमा उजुरी परेको हो।
त्यस्तै रास्वपाबाट बाँके–३ का उम्मेदवार खगेन्द्र सुनारले दिएको गाईको मासुसम्बन्धी अभिव्यक्ति विवादित बनेपछि आयोगले उनीसँग पनि स्पष्टीकरण मागेको छ। सुनारले आफ्नो भनाइको गलत व्याख्या भएको दाबी गरेका छन्। काठमाडौं–४ बाट उम्मेदवार बनेका राप्रपा नेता सुरेन्द्र भण्डारीमाथि लैंगिक तथा अल्पसंख्यक समुदायविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा उजुरी परेको छ। आयोगले सोही उजुरीका आधारमा स्पष्टिकरण प्रक्रिया अघि बढाएको जनाएको छ।
हालसम्म आयोगले यी सबै प्रकरणमा कसैलाई पनि औपचारिक कारबाही भने अघि बढाएको छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस