अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन् । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ पुगेका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिएका हुन् ।
अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न सबैलाई निर्देशन दिँदै नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गरे । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरेका थिए । अनुगमनपछि अर्थमन्त्री खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा दिइने सुरक्षा व्यवस्था, प्रहरी परिचालनलगायत विषयमा जानकारी लिए । उनले निर्वाचनमा स्रोत अभाव नहुने बताए ।
‘निर्वाचन सफल बनाउन् सबैको कर्तव्य हो, सुरक्षा व्यवस्थादेखि आचारसंहिता कार्यान्वयन गर्नु÷गराउनु हाम्रो दायित्व हो’, उनले भने,‘सरकारले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कमी राख्दैन । केही समस्या भए तुरुन्तै जानकारी भएमा समाधान हुनेछ, यसका लागि आपसी समन्वय र सहकार्य आवश्यक छ । नागरिकले मतदान सहज वातावरणमा गर्नुप¥यो ।’ अर्थमन्त्री खनालले जिल्लाको समग्र सुरक्षाको अवस्था, मतदान केन्द्रको जानकारी र आचारसंहिता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी लिए। बागलुङकी मुख्य निर्वाचन अधिकारी सीता शर्मा अधिकारीले जिल्लामा भएका शान्ति सुरक्षाको व्यवस्था, आचारसंहिता कार्यान्वयन र अहिलेसम्म भएका निर्वाचन तयारीका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीसँग निर्वाचनको तयारी र जिल्लाको वस्तुअवस्थाका विषयमा उनले जानकारी लिए । उनले निर्वाचनको समयमा आउने गलत र भ्रामक सूचनालाई सम्पादन गरेर चनाखो भएर बस्न सुरक्षा निकायलाई निर्देशन दिए । मन्त्री खनाललाई मुख्य निर्वाचन अधिकृत अधिकारी, प्रमुख जिल्ला अधिकारी आचार्य, प्रहरी उपरीक्षक तिलक भारतीलगायतले चुनावको तयारीका साथै यहाँ आचारसंहिता उल्लङ्घन नभएको बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
दश स्थानीय तह र ८५ वटा वडा रहेको बागलुङमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बागलुङमा कूल एक लाख ९३ हजार ३८१ जना मतदाता छन् । दुई वटा प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस