नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्रको रक्षा र स्वाधीनताको पक्षमा उभिने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्। बिहीबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
बुर्तिबाङका जनता, मतदाता तथा नेता–कार्यकर्तासँग संवाद गर्दै उनले राजनीतिक दल र जनताले २०८४ सालमै निर्वाचन चाहेको भए पनि विशेष परिस्थितिका कारण अहिले नै निर्वाचन गर्नुपरेको बताए। भदौ २३ र २४ गतेका घटनाले देशमा गम्भीर अवस्था सिर्जना गरेको उल्लेख गर्दै उनले त्यसबेला आफू र सहसंयोजक माधव नेपालले विवेकपूर्ण पहल गरेर मुलुकलाई संकटबाट जोगाएको दाबी गरे। यो घटनाबाट संविधान केही हदसम्म ‘घाइते’ भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको उनको भनाइ थियो।
उनले भने ,‘२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं। २४ गतेदेखि २६ गतेसम्म राज्य कसले चलाएको थियो भन्ने गम्भीर प्रश्न उठेको छ। यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो ।'
उनले विश्व राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सानो देश पनि ठुला शक्तिको प्रतिस्पर्धाका लागि दुरुपयोग हुन नहुने बताए । युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह गरे । ‘नेपालको खनिज वा स्रोत साधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्व अघि बढाउन प्रयोग हुन सक्छ भन्ने खतरा देखिएको छ। साँढेको जुधाइ, बाच्छाको मिचाइ नहोस् भन्ने चिन्ता हामीमा छ ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस