अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले चल्न सही सूचना प्रवाह आवश्यक रहने बताएका छन् । नेपाल पत्रकार महासंघ र राष्ट्रिय सूचना आयोगले शुक्रबार काठमाडौंको तीनकुनेमा संयुक्त रूपमा आयोजना गरेको ‘मिडियामा सूचनाको हकको प्रयोग : अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
समाजलाई शान्त, सभ्य र सौम्य राख्नको निमित्त सही सूचना सही समयमा सही कारणले दिनुपर्ने खनालको भनाइ थियो । एउटै सूचना कसैले दुई दिनमा र कसैले १५ दिनमा पाउँदा धेरै फरक पार्ने मन्त्री खनालले जिकिर गरे । ‘अर्थतन्त्रको सही विकासको निमित्त, हाम्रा आफ्नै क्रियाकलाप पनि सही तरिकाले सञ्चालनको निमित्त, समाजलाई शान्त, सभ्य र सौम्य राख्नको निमित्त सही सूचना सही समयमा सही कारणले दिनुपर्ने हुन्छ,’ उनले भने ।
उनले सूचनाको हक प्रयोग गरेर समाचारका लागि भन्दा पनि स्वार्थका लागि अन्य ठाउँमा प्रयोग हुने गरेको पनि बताए । मन्त्री खनालले अर्थ मन्त्रालयबाट सूचना माग गरेर स्वार्थ समूहले प्रयोग गर्ने गरेको पनि गुनासो गरे । ‘अर्थ मन्त्रालयमा पत्रकारबाट सूचना माग गरिएको सूचना करिब–करिब छैनन् । किन भने धेरै सूचनाहरू वेवसाइटमै प्रकाशित हुन्छन् । कसले माग्यो भन्दा कुनै बेलामा पत्रकार भएको होला अथवा अरू नै भूमिकामा होला । त्यो सूचना लिएर कतै गएर प्रयोग गर्ने गतिविधि देखिन्छ,’ उनले भने, ‘त्यस्ता गतिविधिबाट हामी सचेत हुनुपर्छ । सूचना अत्यन्त महत्वपूर्ण छ ।’
सूचनाको हक सरकारी क्षेत्रमा मात्र नभएर व्यवसायिक घटनाभित्र पनि लागू हुने भन्दै मन्त्री खनालले सूचनाको हक नागकिर समक्ष पु¥याउन ‘एक्सप्लोर’ (प्रचार–प्रसार) गर्न आवश्यक रहेकोमा पनि जोड दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस