सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामै ५३ अर्ब ४० करोड रुपैयाँ बराबर कर छुट दिएको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा आर्थिक ऐनले दिएको कर राजस्व छुटमार्फत कुल ५५ करोड ५७ लाख राजस्व छुट भएको हो ।
यस अवधिसम्म वस्तु आयातमा भने कुल ५२ अर्ब ५४ करोड बराबर राजस्व छुट दिइएको छ । अर्थ मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा ५ (३) तथा अनुसूची १ अनुसार मूल्य अभिवृद्धि कर छुट हुने वस्तु पैठारीमा कुल २९ अर्ब ७० करोड ३३ लाख बराबर छुट दिइएको छ ।
भन्सार ऐन २०६४ को दफा ९ अनुसार कूटनीतिक सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा यस अवधिमा ४८ करोड २९ लाख बराबर राजस्व छुट दिइएको छ । सोही दफाको महसुल सुविधा अन्तर्गत पैठारी भएका वस्तुमा ४ करोड २१ लाख बराबर छुट दिइएको अर्थले जनाएको छ ।
आर्थिक ऐन २०८२ को दफा १८ (२) अनुसार मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र नेपाल सरकारको स्वामित्व भएका संस्थाले आयात गरेका मालवस्तुमा ९५ करोड ५ लाख रुपैयाँ बराबर छुट दिइएको छ ।
आर्थिक ऐन २०८२ को दफा १८ (३) अनुसार नेपाल सरकार वा लगानी बोर्डसँग भएको आयोजना विकास सम्झौता बमोजिम परियोजना विकासका लागि आयोजना वा आयोजनाले नियुक्त गरेका ठेकेदारका नाममा पैठारी भएका मालवस्तुमा १ अर्ब ४९ करोड ७८ लाख छुट दिइएको छ ।
भन्सार महसुल ऐन २०८२ को दफा ११ अनुसार साफ्टा सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा दिइएको छुट रकम २ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ बराबर छ । भन्सार महसुल ऐनका विभिन्न दफा अन्तर्गत दिइएका छुट रकम १७ अर्ब ४० करोड ३३ लाख छ ।
उता, आर्थिक ऐन २०८२ अन्तर्गत कुल ३ हजार ४ सय ७७ करदाताले ५५ करोड ५७ लाख बराबर छुट पाएका छन् । जसमा सोही ऐनको दफा २७ को उपदफा १, २, दफा २५ को उपदफा १ र २, दफा २४ को उपदफा १ बमोजिम कर छुट दिइएको अर्थको विवरणमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस