राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको चुनावी सभालाई सम्बोधन गर्दै आफूलाई चौतर्फी घेराबन्दी गरेर मानसिक र भौतिक रूपमा सखाप पार्न खोजिएको बताएका छन्। मध्यरातमा बेडरुममा छिरेर 'अन्तिम इच्छा के हो?' भनी सोधिएको घटना स्मरण गर्दै उनले त्यसको जवाफ आगामी फागुन २१ गतेको निर्वाचनमार्फत जनताले दिने विश्वास व्यक्त गरे।
आफूविरुद्ध जिल्ला-जिल्लामा मुद्दा हालेर अन्याय गरिएको भए तापनि आफूले प्रतिशोध नसाध्ने र कानुनी लडाइँ आफैँ लड्ने उनले प्रष्ट पारे। ३४ वर्षदेखि राजनीतिक आडमा राज्यका संरचनालाई भर्ती केन्द्र बनाएर जनताका सपनामा 'डोजर' चलाउनेहरूको हिसाब अब जनताले गर्ने उनको भनाइ छ। चितवनलाई 'निलो क्रान्ति' को उर्वर भूमि र इतिहास रच्ने थलोको रूपमा अर्थ्याउँदै उनले यसपटकको मतदान केवल चुनाव मात्र नभई देशको युग परिवर्तन गर्ने एउटा महान् क्रान्ति हुने दाबी गरे।
उनले भने, ‘हामीलाई त घेराबन्दी गरेका हुन्।उखेल्न खोजेका हुन्, लुछ्न खोजेका हुन्, मार्न खोजेका हुन्। मानसिक र भौतिक रूपमा सिद्ध्याउन खोजेका हुन्, सखाप गर्न खोजेका हुन्। मध्यरातमा बेडरुममा छिरेर ‘तेरो अन्तिम इच्छा के हो?’ भनेर सोधेका हुन् मलाई। त्यतिखेर मैले त जवाफ दिइनँ। मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते तपाईँले बोल्नु पर्ने छ। अब क्रान्ति हुन्छ, २१ गते कुनै मतदान मात्र हुने वाला छैन। यो देशले वर्षौँदेखि देखेको सपनाको कुरा हामी गरिरहेका छौँ। यस पटक पूरा गर्नै पर्छ। राजनीतिको आडमा राज्यका संरचनाहरूलाई भर्ती केन्द्र गराएर, आ–आफ्नो ठाउँमा लगेर बजेटको गलत वितरण गरेर, ’मैले यति ल्याएँ र उति ल्याएँ’ भनेर देशका अन्य ठाउँलाई विभेद गरेको हिसाब यसपटक गर्नै पर्ने हुन्छ। मलाई जिल्लै पिच्छे मुद्दा हालेका हिसाबहरू छन्। म माथि भएका अन्याय अत्याचारका हिसाबहरू छन्। त्यसको न्यायिक लडाइँ, कानुनी लडाइँ म लडुँला। तर ३४ वर्ष यिनीहरूले हाम्रो सपनामा डोजर चलाएका छन्, त्यसको हिसाब गर्नुपर्ने छ। त्यो हिसाब हामी लिन्छौँ। यो चितवन धेरै हिसाबले उर्वर भूमि हो। देवभूमि, तपोभूमि यो हुँदै हो। तर यो देशको इतिहास लेख्ने भूमि पनि चितवन भएको छ। म गर्वका साथ भन्छु ३ वर्ष अगाडि चितवनले रोपेको यो क्रान्ति, निलो क्रान्ति आज फैलिएर देशको पहिलो पार्टी बन्न गएको छ। इतिहास रच्ने यो यात्रा सुरु गरेको चितवनलाई साथ दिन देश भरिका अन्य जिल्लाहरू तयार भएको मैले विभिन्न ठाउँमा जाँदा पाएको छु।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस