हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटल तथा पर्यटन समूहका ७ वटा कम्पनी सूचीकृत रहेका छन् । नेप्सेमा सूचीकृत भएका यो समूहका अधिकांश कम्पनीहरु नोक्सानीमा देखिएका छन् । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ वटा कम्पनी नोक्सानीमा रहेका छन् भने २ वटा कम्पनी मात्रै नाफामा देखिएका छन् ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कालिञ्चोक दर्शन र सोल्टी होटलबाहेक सबै कम्पनीले नोक्सानी व्यवहोरेका छन् । यो अवधिमा बन्दीपुर केबलकार, ओरियन्टल होटल, चन्द्रागिरि हिल्स, सिटि होटल र तारागाउँ रिजेन्सी नोक्सानीमा रहेका छन् । होटल तथा पर्यटन समूहमा सुचीकृत ७ कम्पनीमध्ये सोल्टी होटलले सबैभन्दा बढी ३४ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा गरेका छ । जुन गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा १५.१९ प्रतिशतले बढी हो ।
त्यस्तै दोस्रो धेरै नाफा कमाउनेमा कालिञ्चोक दर्शन रहेको छ । कम्पनीले चालु आवको पुस मसान्तसम्म १ करोड १९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । गत आवमा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५२.६८ प्रतिशतले बढेको हो ।
हालै आइपीओ निष्काशन गरेको बन्दीपुर केबुलकार ७४ लाख ९१ हजार रुपैयाँ घाटामा रहेको छ । यो कम्पनी गत अािर्थक वर्षको सोही अवधिमा २ करोड ५९ लाख रुपैयाँ घाटामा रहेको थियो । यो अवधिमा सिटी होटलको घाटा १० करोड ९ लाखमा सिमित छ । गत आवको सोही अवधिमा यो कम्पनीको नोक्सानी १० करोड ४९ लाख रुपैयाँ रहेको थियो । जेनजी आन्दोलनले क्षति पुगेको तारागाउँ रिजेन्सी होटल्स ९ करोड ७ लाख रुपैयाँ नोक्सानीमा रहेको देखिन्छ । गत आवको सोही अवधिमा यो कम्पनी १८ करोड ६७ लाख बढीले नाफामा रहेको थियो ।
त्यस्तै चन्द्रागिरी हिल्सको पनि यो अवधिमा नोक्सानीमा नै रहेको छ । यो कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा ४ करोड ७० लाख रुपैयाँले नोक्सानीमा रहेको छ । यो कम्पनी गत आवको सोही अवधिसम्ममा भने ६ करोड ६४ लाख रुपैयाँले नाफामा रहेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ओरियन्टल होटल्सको नोक्सानी २ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यो होटल्स २ करोड ८३ लाख रुपैयाँले नाफामा रहेको थियो ।
आम्दानीमा पनि सोल्टी अघि
चालु आवको ६ महिनाको अवधिमा सबैभन्दा धेरै आम्दानी गर्ने होटल्समा पनि सोल्टी होटल्सनै अघि रहेको छ । कम्पनीले ६ महिनामा १ अर्ब ४५ करोड रुपैयाँको आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.६९ प्रतिशतले धेरै हो । कालिन्चोक दर्शन, बन्दीपुर केबुलकारले पनि गत वर्षको तुलनामा आम्दानी वृद्धि गरेका छन् । बन्दीपुर केबुलकारले गत वर्षको सोही अवधिको तुलनामा ३९.४७ प्रतिशतले आम्दानी वृद्धि गरेर ९४ लाख ५७ हजार पुर्याएको छ भने कालिन्चोक दर्शनले १४.९१ प्रतिशतले आम्दानी बढाएर ३ करोड ५४ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ ।
जेनजी आन्दोलनमा बिग्रेको संरचना निर्माणमा लागेको तारागाउँ रिजेन्सी होटलको आम्दानी ७५.२६ प्रतिशतले घटेर १७ करोड १९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ भने सीटी होटल्सको आम्दानी १० करोड ७५ लाख रुपैयाँमा सीमित छ । त्यस्तै चन्द्रागिरीको आम्दानी ४१.०८ प्रतिशतले गिरावट आएर २४ करोड ८९ लाख रुपैयाँ र ओरियन्टल होटल्सको आम्दानीमा भने १.४५ प्रतिशतको मात्रै गिरावट भएर ४८ करोड ४६ लाख रुपैयाँमा सीमित छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस