फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा खटिने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भए उपचार खर्च सरकारले नै व्यहोर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले घाइते सुरक्षाकर्मीको उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यले बेहोर्ने जानकारी दिए।
निर्वाचन अवधिमा सुरक्षाकर्मी वा निर्वाचन प्रहरीको मृत्यु भएमा उनका आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
यसैगरी, मन्त्रिपरिषद्ले १६औं योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने, यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयनका लागि गठन गरिएको जाँचबुझ आयोगको कार्यावधि एक महिना थप गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले बताए। रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्तसम्म निरन्तरता दिने तथा सो अवधिभित्र नयाँ कार्यसमिति गठन गर्न बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने निर्णयसमेत भएको छ।
त्यसैगरी, न्याय सेवा आयोगको सिफारिसअनुसार दुई उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय गरिएको छ। चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुन लागेको कलंकी–बसुन्धरा खण्डको काठमाडौँ चक्रपथ सुधार आयोजनासम्बन्धी कार्यान्वयन सम्झौतामा उल्लेखित विषयमा कर छुट दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्ने तय गरिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभा निर्वाचनपछि उपयुक्त समयमा गर्ने निर्णय पनि गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस