सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवाबाहेक निजी अस्पतालबाट दिइने सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो।
बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार बढ्दो वित्तीय भारका कारण जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट सञ्चालन हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द गरिनेछ।
यो निर्णय जेठ ११ गते बसेको बोर्ड बैठकले गरेको हो। निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सयौं निजी अस्पताल तथा मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, प्रयोगशाला परीक्षण, शल्यक्रिया, औषधि लगायत नियमित स्वास्थ्य सेवा प्रभावित हुने देखिएको छ। यद्यपि आकस्मिक सेवा भने निरन्तर सञ्चालनमा रहने बोर्डले जनाएको छ।
सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने चरम आर्थिक अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशायी हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ्न थालेको छ । बीमा बोर्डका अनुसार अहिलेसम्म सेवाप्रदायक सस्थालाई १६ अर्ब तिर्न बाँकी छ । स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई राजनीतिक प्रचारको साधन बनायो, तर वित्तीय व्यवस्थापन, सेवा गुणस्तर र दिगोपनतर्फ गम्भीर ध्यान दिएन । परिणामस्वरूप अहिले स्वास्थ्य बीमा कार्यक्रमको अस्तित्व नै संकटमा पुगेको छ ।
निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमावाफत्को भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए । कतिपय अस्पतालले यसअघि नै स्वास्थ्य बीमाका बिरामी नलिने चेतावनी दिएका थिए । अब भने बोर्ड आफैंले सेवा स्थगनको निर्णय गरेपछि बीमा कार्यक्रम व्यवहारत: संकुचनको चरणमा पुगेको देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस