नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै त्यसलाई अलोकतान्त्रिक र असंसदीय भएको बताएका छन्। बुधबार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदलाई निष्क्रिय बनाउँदै अध्यादेशकै आधारमा राजकाज चलाउने प्रयास भइरहेको आरोप लगाए।
दंगालले आगामी नीति तथा कार्यक्रम र बजेटसमेत अध्यादेशमार्फत ल्याइए संसद्को औचित्यमाथि नै प्रश्न उठ्ने बताए। यस्तो कदम जारी रहे विपक्षी दलहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि उनले दिएका छन्।
उनले भनेका छन्,‘अध्यादेशबाटै शासन गर्ने, राजकाज गर्ने सरकारको जुन अलोकतान्त्रिक र असंसदीय तरिका छ यसप्रति हाम्रो घोर आपत्ति छ । हामी अब हेर्दै जान्छौँ भोलिको दिनमा बजेट निर्माण गर्नको लागि संसद आह्वान त गर्ने होला नि, नीति कार्यक्रम त बनाउने होला नि । नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने त हाम्रो भन्नु केही छैन । त्यसपछि सदनको मुद्दा सकियो हामी सडकमा जानुपर्छ । तर हामीलाई विश्वास छ यो सरकारले नीति तथा कार्यक्रम त संसदबाटै ल्याउँछ होला । त्यतिबेला नै फैसला होला।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस