सरकारले दोहोरो सुविधा अन्तर्गत प्रयोगमा रहेका ७०१ वटा सवारी साधन फिर्ता ल्याएको छ। विभिन्न राजनीतिकर्मी तथा पूर्वप्रशासकले प्रयोग गर्दै आएका गाडीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा फिर्ता ल्याएको हो ।
प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शुक्रबारसम्म ३४ वटा निकायबाट ती सवारी साधन फिर्ता ल्याइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेका २६ वटा गाडी पनि फिर्ता गरिएको उनले जानकारी दिइन्।
सबैभन्दा बढी अर्थ मन्त्रालयबाट प्रयोगमा रहेका १२४ वटा गाडी फिर्ता ल्याइएको छ। त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट १६/१६ वटा सवारी साधन फिर्ता भएका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट ८, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २०, खानेपानी मन्त्रालयबाट ५ र गृह मन्त्रालयबाट २१ वटा गाडी फिर्ता गरिएको छ।
यस्तै, परराष्ट्र मन्त्रालयबाट ८, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट १२, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ६४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट ६, रक्षा मन्त्रालयबाट १४, वन तथा वातावरण मन्त्रालयबाट १३ र सहरी विकास मन्त्रालयबाट ७५ वटा गाडी फिर्ता ल्याइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस