इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार थप दुई जना नेपाल फर्किने क्रममा छन्। बाँकी आठ जना नेपाली अझै इरानमै रहेका छन् र उनीहरू सबै सुरक्षित अवस्थामा रहेको उनले बताए। ती नेपालीहरूसँग सम्बन्धित देशमा रहेको नेपाली दूतावासले निरन्तर सम्पर्कमा रही अवस्थाबारे जानकारी लिइरहेको मन्त्रालयले जनाएको छ।
मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो परिस्थितिलाई मन्त्रालयले नजिकबाट नियालिरहेको जनाउँदै प्रवक्ता क्षेत्रीले हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताए।
मन्त्रालयले सकेसम्म घरभित्रै बस्न, अनावश्यक बाहिर ननिस्कन, आवश्यक सुरक्षा सावधानी अपनाउन तथा आ–आफ्नो स्थानमा रहेका नेपाली समुदाय र दूतावाससँग नियमित सम्पर्कमा रहन अनुरोध गरेको छ। साथै, इजरायल र इरानका सम्बन्धित निकायको पूर्व स्वीकृतिबिना यात्रा नगर्न र नेपालबाट ती देशतर्फ हुने सम्पूर्ण यात्रा तत्कालका लागि रद्द गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस