आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय रूपमा सम्पन्न गराउन नेपाली सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ। रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत निर्वाचन सुरक्षासम्बन्धी आफ्नो भूमिका र जिम्मेवारीबारे जानकारी सार्वजनिक गरेको हो।
जङ्गी अड्डाबाट फागुन १७ गते दिउँसो ३ बजेर १५ मिनेटमा जारी सूचनामा नेपाली सेना एकीकृत सुरक्षा योजना अनुरूप सम्बन्धित सबै सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँग समन्वय र सहकार्य गर्दै निर्वाचन सुरक्षामा सक्रिय रूपमा संलग्न रहने उल्लेख गरिएको छ। सेनाले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने विषयलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।
विज्ञप्तिअनुसार निर्वाचन सुरक्षा व्यवस्थापनका सम्पूर्ण कार्यहरू “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४” तथा “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२” को प्रावधानअनुसार सञ्चालन भइरहेको छ। मतदान प्रक्रिया सम्पन्न भएपछि स्थापित सुरक्षा प्रोटोकल अनुसार मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ढुवानी गरिने व्यवस्था मिलाइएको सेनाले स्पष्ट पारेको छ।
मतदान समाप्तिपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, राजनीतिक दलका तोकिएका प्रतिनिधि तथा नेपाली सेना सम्मिलित संयुक्त टोलीले मतपेटिका ओसारपसार गर्ने जिम्मेवारी निर्वाह गर्ने व्यवस्था रहेको जनाइएको छ। यस प्रक्रियाले मतपेटिकाको सुरक्षा तथा पारदर्शितालाई सुनिश्चित गर्ने विश्वास सेनाले व्यक्त गरेको छ।
नेपाली सेनाले विगतका निर्वाचन अनुभवलाई स्मरण गर्दै वि.सं. २०४८ सालदेखि सम्पन्न हुँदै आएका सबै प्रतिनिधि सभा निर्वाचनहरूमा आफूले निरन्तर सुरक्षा भूमिका निर्वाह गर्दै आएको जनाएको छ। सो अवधिदेखि सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा, काठमाडौंबाट देशभरका निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचन अवधिभर तेस्रो सुरक्षा घेरामा रही सुरक्षा प्रदान गर्ने तथा निर्वाचन सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा मतगणना केन्द्रसम्म पुर्याउने जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस