आगामी निर्वाचनअन्तर्गत देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले आफ्नो मताधिकार प्रयोग गर्ने मतदान केन्द्रहरू सार्वजनिक भएका छन्। राजधानी काठमाडौँसहित विभिन्न जिल्लामा रहेका मतदानस्थलबाट प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र दलका अध्यक्षसम्मले मतदान गर्ने तयारी गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्ने कार्यक्रम तय भएको छ। यस्तै नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी स्कुलमा रहेको मतदान केन्द्रबाट मत हाल्नेछन्।
सोही पार्टीका सहसंयोजक माधवकुमार नेपाल रौतहटको रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् भने वरिष्ठ नेता झलनाथ खनालको नाम इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय मतदान केन्द्रमा समावेश गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका अन्तर्गत धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भने मैतीदेवीस्थित मयुर कुण्ड मतदान केन्द्रबाट आफ्नो मत प्रयोग गर्नेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँको चुच्चेपाटी क्षेत्रमा रहेको उपत्यका खानेपानी लिमिटेड परिसरभित्रको महाँकाल मतदान केन्द्रमा मतदान गर्दैछन्। सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालयमा रहेको मतदान केन्द्र रोजेका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ अन्तर्गत पालुङटार नगरपालिका–खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मत हाल्ने कार्यक्रम छ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको पुरानो बानेश्वरस्थित सानो गौचरण पार्कमा तोकिएको मतदान केन्द्रबाट मतदान गर्नेछन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मोरङको विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवनमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाको हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रमा पुग्नेछन्।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुर नगरपालिका–५ साकोठास्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्ने तयारीमा छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ महानगरपालिका–६ महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयबाट मत हाल्ने कार्यक्रम रहेको जनाइएको छ।
त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित कार्मेल विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन्। देशभर निर्वाचन गतिविधि तीव्र बन्दै जाँदा शीर्ष नेताहरूको मतदान सहभागिताले निर्वाचनको माहोल थप सक्रिय बनेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस