राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म धैर्य र संयम कायम गर्न आफ्ना कार्यकर्ता तथा समर्थकलाई आग्रह गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले शनिबार एक अपिल जारी गर्दै निर्वाचनबाट प्राप्त जनादेशलाई जिम्मेवारीपूर्वक स्वीकार गर्दै विजयलाई उन्मादको रूपमा नलिन र जिम्मेवारीप्रति प्रतिबद्ध रहन पार्टीपंक्तिलाई अनुरोध गरेको हो।
आयोगले जारी गरेको वक्तव्यमा निर्वाचनको सम्पूर्ण परिणाम आउन अझै केही समय लाग्ने भएकाले हतारमा प्रतिक्रिया नदिन र धैर्यतापूर्वक अन्तिम नतिजाको प्रतिक्षा गर्न आग्रह गरिएको छ।
यसैबीच, हालका दिनमा पार्टीसँग सम्बन्धित केही व्यक्तिहरूले सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत अनावश्यक टिप्पणी र टिकाटिप्पणी गर्ने प्रवृत्ति बढेकोप्रति आयोगले ध्यानाकर्षण जनाएको छ। यस्तो गतिविधि पार्टीको अनुशासन र आचारसंहिताविपरीत हुने भन्दै आयोगले त्यस्ता कार्य नगर्न र नगराउन स्पष्ट निर्देशन दिएको छ।
आयोगले यदि त्यस्ता गतिविधि जारी रहेको पाइएमा पार्टीको विधान, कार्यविधि र आचारसंहिताका आधारमा आवश्यक कारबाही गरिने चेतावनी समेत दिएको छ।
रास्वपाले लोकतान्त्रिक मूल्य–मान्यतालाई सम्मान गर्दै सभ्य र अनुकरणीय राजनीतिक संस्कार कायम राख्न सबैलाई आग्रह गरेको छ। साथै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने क्रममा सहयोग पुर्याउने सबै सरोकारवालाप्रति धन्यवाद पनि व्यक्त गरिएको छ।
केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले जारी गरेको अपिलमा पार्टीको आधिकारिक निर्देशनबिना कुनै पनि गतिविधि नगर्न र गराउन पनि सम्पूर्ण पार्टीपंक्ति तथा समर्थकलाई अनुरोध गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस