चालु आर्थिक वर्षको ८ (साउन देखि फागुनमसान्त) महिनामा सरकारको आम्दानी भन्दा खर्च २१ प्रतिशतले बढी रहेको छ । चालु आर्थिक वर्षकाे ८ महिनाकाे अवधिमा सरकाले राजस्व लक्ष्यको ८२.६० प्रतिशतमात्र मात्रै संकलन भएको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार यस वर्ष फागुन मसान्तसम्म सरकारले ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ बराबर राजस्व संकलन लक्ष्य राखेको थियो । तर, ७ खर्ब ५१ अर्ब ८६ करोड बराबर संकलन भएको छ । जुन लक्ष्यको ८२.६० प्रतिशतमात्र हो ।
चालु आवको ८ महिनामा सरकारको खर्च भने ९ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख रहेको छ ।
सरकारले चालु आव १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ । वार्षिक लक्ष्यको तुलनामा भने ५०.८० प्रतिशतमात्र प्राप्ति भएको छ । उता, गत आव यसै अवधिको तुलनामा सरकारको आम्दानी ३.०४ प्रतिशतले सुधार भएको छ । यस अवधिमा गत आव ७ खर्ब २९ अर्ब ६५ करोड आम्दानी सरकारले गरेको थियो ।
अर्थ मन्त्रालयका अनुसार भन्सार महसुल १ खर्ब ५५ अर्ब ९० करोड उठेको छ । जुन गत आवको तुलनामा ८.१३ प्रतिशतले बढेको हो । गत आव यसै अवधिमा भन्सार महसुल १ खर्ब ४४ अर्ब १८ करोड उठेको थियो । मूल्य अभिवृद्धि कर (भ्याट) २ खर्ब २५ अर्ब बराबर उठेको छ । जुन गत आवको तुलनामा ७.३५ प्रतिशतको विस्तार हो । लक्ष्यको तुलनामा भने ९१.५२ प्रतिशतमात्र संकलन भएको छ ।
यस वर्ष फागुनसम्म २ खर्ब ४६ अर्ब बराबर भ्याट उठाउने लक्ष्य तय गरिएको थियो । अन्तःशुल्क लक्ष्यको ९०.३५ प्रतिशत बराबर संकलन भएको छ । यस वर्ष फागुनसम्म १ खर्ब ३३ अर्ब अन्तःशुल्क संकलन लक्ष्य रहेकोमा १ खर्ब २० अर्बमात्र संकलन भएको छ । आयकर लक्ष्यको ७१.८३ प्रतिशतमात्र संकलन भएको छ । फागुनसम्म २ खर्ब ३७ अर्ब बराबर आयकर संकलन हुने अनुमान गरिएकोमा १ खर्ब ७० अर्ब ८० करोडमात्र संकलन भएको तथ्यांकले देखाएको छ ।
विभागीय रूपमा हेर्दा भन्सार विभागले फागुनसम्म लक्ष्यको ८४.६० प्रतिशत र आन्तरिक राजस्व विभागले ८१.३८ प्रतिशत राजस्व उठाउन सकेको देखिन्छ । गैरकर राजस्व भने लक्ष्यको ७५.३९ प्रतिशतमात्र उठेको छ । भन्सार विभागले फागुनसम्म ३ खर्ब ७८ अर्बको लक्ष्य पाएको थियो । संकलन ३ खर्ब १९ अर्ब बराबर भएको छ । आन्तरिक राजस्व विभागले ४ खर्ब ३८ अर्बको लक्ष्य राखेकोमा ३ खर्ब ५६ अर्ब संकलन गरेको थियो । वार्षिक लक्ष्यको तुलनामा भन्सार विभागले फागुनसम्म ५४.३९ र आन्तरिक राजस्व विभागले ४८.३७ प्रतिशत राजस्व उठाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस