Like us!
Follow us!
Connect us!
Watch us!

बैंकबाट ऋण लिएर घर बनाउने बढे, कुन बैंकको व्यक्तिगत आवासीय कर्जा कति ?

अर्थ संसार

सोमबार, ०२ चैत्र २०८२, १५ : ३१ मा प्रकाशित

बैंकबाट ऋण लिएर घर बनाउने बढे, कुन बैंकको व्यक्तिगत आवासीय कर्जा कति ?

पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर निर्माणका लागि लिइने कर्जाको मात्रा उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म वाणिज्य बैंकहरूले व्यक्तिगत आवासीय घर कर्जामा कुल ३ खर्ब ५२ अर्ब १९ करोड ७० लाख रुपैयाँ प्रवाह गरेका छन्। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १०.४६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको माघ मसान्तसम्म बैंकहरूले व्यक्तिगत आवासीय घर कर्जामार्फत ३ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ प्रवाह गरेका थिए।

हाल नेपालमा ३ करोड रुपैयाँसम्मको घर कर्जालाई व्यक्तिगत आवासीय कर्जाको रूपमा वर्गीकृत गरिन्छ भने ३ करोड रुपैयाँभन्दा माथिको कर्जालाई रियल इस्टेट कर्जामा समावेश गरिन्छ। पछिल्लो समय ३ करोड रुपैयाँसम्मको आवासीय कर्जामा उल्लेख्य वृद्धि देखिएको छ। घट्दो ब्याजदरको अवसर उपयोग गर्दै घर निर्माणका लागि ऋण लिनेहरूको संख्या बढिरहेको विश्लेषण गरिएको छ।

कुन बैंकले  कति  दिए कर्जा ?

बैंकहरूमध्ये सर्वाधिक आवासीय घर कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ। समीक्षा अवधिसम्म उक्त बैंकले ४५ अर्ब २१ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.४८ प्रतिशतले बढी हो। सर्वाधिक घर कर्जा प्रवाह गर्ने दोस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ। बैंकले ४१ अर्ब ६३ करोड रुपैयाँ घर कर्जा प्रवाह गरेको छ। तर यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३८ प्रतिशतले घटेको देखिएको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगत आवासीय कर्जा २२ प्रतिशतले बढेर ३३ अर्ब २५ करोड पुगेको छ भने नबिल बैंकको कर्जा १२ प्रतिशतले बढेर ३० अर्ब ६० करोड रुपैयाँ पुगेको छ। एभरेष्ट बैंकको कर्जा १४.४३ प्रतिशतले बढेर २६ अर्ब २ करोड पुगेको छ। त्यस्तै, एनएमबी बैंकको कर्जा २८.४६ प्रतिशतले बढेर २१ अर्ब ६८ करोड पुगेको छ भने लक्ष्मी सनराइज बैंकको कर्जा ९.३५ प्रतिशतले बढेर २० अर्ब १ करोड रुपैयाँ पुगेको छ। सिद्धार्थ बैंकको कर्जा ३३ प्रतिशतले बढेर १७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

प्रभु बैंकले १३ अर्ब ८५ करोड रुपैयाँ, सानिमा बैंकले १३ अर्ब रुपैयाँ, नेपाल बैंकले १२ अर्ब ६३ करोड रुपैयाँ तथा सिटिजन्स बैंकले १२ अर्ब १ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जा प्रवाह गरेका छन्।

 कुमारी बैंक र कृषि विकास बैंकको व्यक्तिगत आवासीय कर्जा भने घटेको छ। कुमारी बैंकको कर्जा ६ प्रतिशतले घटेको छ भने कृषि विकास बैंकको कर्जा ६.८१ प्रतिशतले घटेको देखिएको छ। समीक्षा अवधिसम्म प्राइम बैंकले ९ अर्ब ५९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ अर्ब ५९ करोड, स्टान्डर्ड चार्टर्ड बैंकले ८ अर्ब ५६ करोड, माछापुच्छ्रे बैंकले ६ अर्ब ९६ करोड, हिमालयन बैंकले ५ अर्ब ५१ करोड र नेपाल एसबीआई बैंकले २ अर्ब ९७ करोड रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको