सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत ३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले चैत २७ गते शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित होटेल उग्रचण्डीको सभाहलमा बिहान ११ बजे बाह्रौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।
उक्त साधारणसभाले कम्पनीको हाल संस्थापक सेयर समूह र सर्वसाधारण समूहको सेयर क्रमशः ६१.११ र ३८.८९ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर मात्र संस्थाको कूल चुक्ता पुँजीको ८.६५ प्रतिशतले सर्वसाधारण सेयरमा परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फबाट ५३.७२ प्रतिशत र सर्वसाधारण समुहको तर्फबाट ४६.२८ प्रतिशत सेयर स्वामित्व हुने गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी यस वित्तीय संस्था अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र उपरोक्त विशेष प्रस्तावहरूका सम्बन्धमा नियमनकारी निकायहरूबाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन एवं परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।
त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा / नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।
त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८२÷०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्तिका सम्बन्धमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ।
साधारणसभा प्रयोजनका लागि चैत १८ गते १ दिन कम्पनीले बूक क्लोज गर्ने निर्णय समेत गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस