नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र सुदृढ बनाउन र लगानीमैत्री वातावरण सिर्जना गर्न निजी क्षेत्र निरन्तर सक्रिय रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘स्थिर सरकार र आर्थिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य आधारका रूपमा स्वीकार गरिनु सकारात्मक संकेत भएको उल्लेख गरे।
उनले महासंघको पहलमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको जानकारी दिँदै पुराना तथा अवरोध सिर्जना गर्ने कानुनहरू संशोधन गरेर लगानीका लागि सहज वातावरण बनाउन आयोगले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। ढकालका अनुसार निजी क्षेत्र पूर्ण रूपमा निराश हुने अवस्था नभएको र उनीहरूले दिएका सुझावका आधारमा करिब ३० वटा कानुन, नियम र कार्यविधिमा संशोधन भइसकेको तथा केही प्रक्रिया अगाडि बढिरहेको छ।
राजनीतिक अस्थिरताका कारण विगतमा थुप्रै कामहरू अघि बढ्न नसकेको भए पनि अब स्थिर सरकार आएपछि ती समस्या समाधान हुने अपेक्षा उनले व्यक्त गरे। कार्यक्रममा महासंघकी पूर्वअध्यक्ष भवानी राणाले भने हालको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताइन्। उनले अन्तर्राष्ट्रिय परिस्थितिका कारण नेपाली अर्थतन्त्र प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरिन्। राणाले विप्रेषण घट्ने सम्भावनातर्फ संकेत गर्दै विदेशबाट ठूलो संख्यामा नेपाली श्रमिक स्वदेश फर्किए उनीहरूलाई रोजगारी उपलब्ध गराउनु सरकारका लागि जटिल विषय बन्न सक्ने बताइन्। साथै, बढ्दो महँगी र विश्वव्यापी आर्थिक मन्दीको असर न्यूनीकरण गर्न समयमै तयारी गर्नुपर्नेमा उनले जोड दिइन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस