राष्ट्रपति रामचन्द्र पौडेल ले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा नभएर देशको ‘आर्थिक इन्जिन’का रूपमा लिनुपर्ने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्स को हीरक जयन्ती (७५ औँ वर्ष) कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र राष्ट्र निर्माणको महत्वपूर्ण साझेदार भएको उल्लेख गरे। उनका अनुसार निजी क्षेत्र सशक्त भए मात्र देशको अर्थतन्त्र पनि मजबुत बन्न सक्छ।
निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धिको प्रशंसा गर्दै उनले मुलुकको आर्थिक समृद्धिमा चेम्बरले पुर्याएको योगदानको कदर गरे। कोभिड महामारी, आपूर्ति शृङ्खलामा आएको अवरोध तथा उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रले केही चुनौती सामना गरिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीच अझ मजबुत सहकार्य आवश्यक रहेको उनले बताए। देशको भविष्य युवापुस्तासँग जोडिएको उल्लेख गर्दै उनले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उद्यमशीलता, प्रविधि र सृजनशीलतामार्फत युवालाई आर्थिक गतिविधिमा संलग्न गराउनु अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ थियो।
परम्परागत सोचबाट बाहिर निस्केर नवीनता र नवप्रवर्तनतर्फ उन्मुख हुन आह्वान गर्दै उनले डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विस्तारमा विशेष जोड दिए।
‘निजी क्षेत्र र सरकार बीचको सहकार्य अझै सुदृढ हुन आवश्यक छ । राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार हो,’ राष्ट्रपति पौडेलले भने, ‘स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्छ । आजको युवा पुस्ता देशको भविष्य हो । उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सके मात्र हामी ब्रेन ड्रेन रोक्न सक्छौँ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस