नेपाल राष्ट्र बैंकले साल २०८३ का लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको मानव संसाधन व्यवस्थापन विभागले तयार पारेको उक्त सूची अनुसार दसैं र तिहार लगायतका अवसरमा बैंकहरू बन्द रहनेछन्।
राष्ट्र बैंकका अनुसार नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते बैंक बिदा हुनेछ। त्यस्तै, वैशाख १८ गते पर्ने विश्व मजदुर दिवस (मे १) मा पनि सार्वजनिक बिदा दिइएको छ। दसैंको अवसरमा ७ दिन र तिहारमा ५ दिन बैंक बन्द रहनेछन्। दसैं बिदाअन्तर्गत असोज २५ गते घटस्थापनादेखि असोज ३१ गते फूलपाती हुँदै कात्तिक ६ गते द्वादशीसम्म बैंक बन्द रहनेछ। त्यसैगरी तिहारमा कात्तिक २२ गते लक्ष्मीपूजादेखि कात्तिक २६ गते भाइटीकासम्म बिदा दिइएको छ।
प्रत्येक शनिबार बैंकहरू बन्द रहनेछन् भने शुक्रबार आधा दिन मात्र सेवा प्रदान गरिनेछ। साथै, प्रदेश सरकारले आफ्नो क्षेत्रमा अधिकतम ६ दिनसम्म थप सार्वजनिक बिदा घोषणा गर्न सक्नेछ। यदि सोभन्दा बढी बिदा घोषणा गरिएमा, काठमाडौं उपत्यकाका तीन जिल्लाका हकमा गृह मन्त्रालयको निर्णयअनुसार लागू हुनेछ।
राष्ट्र बैंकले कार्यालय र बैंकिङ कारोबार समय पनि निर्धारण गरेको छ। वैशाख १ देखि कात्तिक १५ तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय सञ्चालन हुनेछ। शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म मात्र कार्यालय खुला रहनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस