प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सशस्त्रले विजयी सुरुवात गरेको छ । सशस्त्रले बाग्मतीलाई पराजित गरेको हो । राष्ट्रिय खेलाडीहरूले भरिएको सशस्त्रसँग बाग्मती ७१ रनले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको सशस्त्रले ५० ओभरमा ८ विकेट गुमाएर २७१ रनको योगफल तयार गरेको थियो । प्रधानमन्त्री कपको यस संस्करणमा पहिलो शतक प्रहार गर्दै आसिफले सशस्त्रलाई बलियो स्थितिमा पु¥याएका थिए । उनी १०५ बलमा १४ चौका र ३ छक्कासहित ११४ रन बनाएर आउट भए ।
ओपनर दीपक बोहरा र कप्तान रोहित पौडेल सस्तोमा आउट भएपछि आसिफले सन्दीप जोरासँग मिलेर सशस्त्रलाई अघि बढाएका थिए । उनीहरुबीच शतकीय साझेदारी हुँदा सशस्त्र २ विकेट क्षतिमा १४६ रनको स्थितिमा पुगेको थियो । जोरा ५३ बलमा ५२ रन बनाएर आउट भए । उनले ५ चौका र तीन छक्का प्रहार गरेका थिए । जोरा आउट भएपछि सशस्त्रको इनिङ अलिकति लड्खडाएको थियो ।
तल्लो क्रमका लोकेश बम र युवराज खत्रीले उपयोगी साझेदारी गर्दै टिमलाई सम्हाले । बमले ३६ बलमा २९ र खत्रीले ३९ बलमा २६ रन बनाए । बाग्तमीका रिजन ढकालले ४ विकेट लिए । इशान पाण्डेले दुई विकेट लिए भने सन्दीप लामिछाने र सोनु देवकोटाले १–१ विकेट बाँडे ।
जवाफी ब्याटिङमा बाग्मती २०० रनमा अलआउट हुँदै ७१ रनको फराकिलो हार स्वीकार्न बाध्य भयो । बाग्मतीका विवेक मगरले सर्वाधिक ३४ रन हाने । १४७ रनमा ९ विकेट गुमाएको बाग्मतीका सुवास खत्री र रिजन ढकालले अन्तिम विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । सशस्त्रका अभिषेक गौतम र रोहित पौडेलले ३–३ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस