श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूहरू सरकारमा नजाने बताएका छन् । काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले जनताले आफ्नो पार्टीलाई सरकारमा जाने म्यान्डेट नदिएको बताएका छन् । उनले आफू म्यान्डेट अनुसार आएको बताए ।
सञ्चारकर्मीले देशका लागि राम्रो काम गर्न रास्वपाले सरकारमा बोलाए सहभागि हुने कि नहुने भनी राखेको जिज्ञासामा उनले सरकारमा सहभागी नहुने स्पष्ट पारे । उनले राम्रो काम गर्नेलाई श्रम संस्कृति पार्टीको सधैँ साथ र सहयोग हुने बताए । उनले रास्वपाबाट बालेन नभई रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने कुरा आज पनि दोहोर्याए । सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले प्रतिपक्षले उठाएको प्रश्नको उत्तर दिन सक्ने मानिस मात्रै प्रधानमन्त्री हुनुपर्ने बताए । उनले श्रम संस्कृति पार्टीलाई अहिले जनताले प्रश्न गर्ने ठाउँमा पुर्याएको बताए ।
उनले चुनाव अगाडि आफू ‘प्रधानमन्त्री हुन्छु’ भनेका विषयमा पनि स्पष्ट पारे । अहिले जनताको मत भन्दा हर्क साम्पाङको बोली ठुलो नभएको बताए ।उनले लहर र लहडमा आफूहरूलाई जनताले मत नदिएको बताए ।
उनले भने, ‘जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएकोले म्यान्डेट अनुसार काम गर्नेछौँ । हामी राम्रो कामलाई साथ दिन्छौँ नराम्रो कामको सधैँ विरोध गर्छौँ । प्रतिपक्षीले सोधेको प्रश्नको उत्तर समय दिएर दिनुपर्छ । हामी प्रतिपक्षमा बसेर प्रश्न गर्छौँ । हामीले गरेको प्रश्नको उत्तर समय दिएर दिन सक्ने मान्छे प्रधानमन्त्री हुनपर्छ भनेको हो । केपी ओलीले पनि भनेको हो । गगन थापाले पनि भनेको हो । कुलमानजीले पनि भनेको हो । हर्क साम्पाङले पनि प्रधानमन्त्री बन्छु भनेर भनेको हो । जनताले प्रधानमन्त्री बनाउने मत दिएनन् । मेरो बोलीले प्रधानमन्त्री हुने कुरा भएन । हामीलाई किन प्रधानमन्त्री बनाउने मत आएन त्यो जनतालाई नै सोध्नुपर्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस