नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी नेतृत्वले निर्वाचन प्रभावित हुनेगरी गुटबन्दी गर्न नहुने बताएका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष उम्मेदवार हेमराज ढकाल समूहको वस्तुगत तर्फको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष ढकालले भावी नेतृत्वलाई ‘गुटबन्दी’ नगर्न र तटस्थ रहन भनेका हुन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । विधान अनुसार अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि अध्यक्ष हुन् । हालका अध्यक्ष ढकालले पर्दापछाडि आफ्नो प्यानल नबनाउन र चुनावी अभियानमा सक्रिय नहुन उनै श्रेष्ठलाई सचेत गराए । यस्तो कार्य विधानको मर्मविपरीत हुने उनको भनाइ छ । अध्यक्ष ढकालले महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रणाली किन ल्याइएको थियो भन्ने विषय स्मरण समेत गराए । नेतृत्व हस्तान्तरण सहज होस् र नेतृत्वमा पुग्ने व्यक्ति विवादरहित होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको भएपनि त्यसको दुरुपयोग भइरहेको उनको आशय छ ।
अहिलेसम्म आफूलाई सर्वसम्मतिको पक्षधर र अभिभावकीय भूमिकामा राख्दै आएका ढकालले यदि भावी अध्यक्षले गुटबन्दी नत्यागे आफू पनि चुप लागेर नबस्ने चेतावनी दिए । उनले भावी अध्यक्षलाई एक पक्षको नेता नबन्न आग्रह गर्दै यदि त्यसो भएमा आफूले पनि अर्को पक्षमा खुलेर समर्थन गर्ने ‘अल्टिमेटम’ दिए । महासंघको निर्वाचन अब केवल साधारण सदस्य वा कार्यसमिति सदस्यहरूको मात्र लडाईं नरहेर वर्तमान र भावी अध्यक्षबीच प्रतिष्ठाको लडाईं समेत बन्नसक्ने देखिन्छ । अध्यक्ष ढकालले आफ्नो तीन वर्षे कार्यकालमा महासंघले उठाएका मुख्य पाँच वटा एजेन्डा पूर्ण रूपमा सफल भएको दाबी गरे । उनले व्यङ्ग्यात्मक शैलीमा आगामी कार्यसमितिलाई अब उठाउने कुनै नयाँ एजेन्डा नै बाँकी नरहेको भन्दै आफ्नो सफलताको फेहरिस्त प्रस्तुत गरे ।
मुलुकमा करिव दुई–तिहाइको शक्तिशाली सरकार रहेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले यस्तो बेला निजी क्षेत्र विभाजित हुनु दुर्भाग्यपूर्ण हुने बताए । उनले महासंघको शक्ति नै एकतामा रहेको र नेतृत्वले गुटबन्दी गर्दा सरकारसँग ‘बार्गेनिङ पावर’ कमजोर हुने उनले उल्लेख गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस