Like us!
Follow us!
Connect us!
Watch us!

सभामुख अर्याल र कोरियाली राजदूतबीच भेट,नेपालको आईटी क्षेत्रमा लगानी गर्न आग्रह

अर्थ संसार

मंगलबार, १२ जेठ २०८३, १२ : ०१ मा प्रकाशित

सभामुख अर्याल र कोरियाली राजदूतबीच भेट,नेपालको आईटी क्षेत्रमा लगानी गर्न आग्रह

सभामुख डीपी अर्याल र नेपालका लागि दक्षिण कोरियाका राजदूत तायोङ पार्क बीच शिष्टाचार भेटवार्ता भएको छ। सभामुखको सचिवालयका अनुसार उक्त भेटमा नेपाल–कोरिया सम्बन्धलाई थप सुदृढ बनाउँदै लगानी, प्रविधि, श्रम, ऊर्जा र संसदीय सहकार्यका विविध आयाममा छलफल भएको थियो।

भेटका क्रममा सभामुख अर्यालले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा दक्षिण कोरियाले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। नयाँ जनादेशपछि मुलुकमा राजनीतिक स्थायित्व कायम भई लगानीका लागि सकारात्मक वातावरण बनेको उल्लेख गर्दै उनले नेपाल वैदेशिक लगानीको आकर्षक गन्तव्य बन्दै गएको स्पष्ट पारे। साथै, नेपाल डिजिटल पूर्वाधार विस्तारतर्फ तीव्र रूपमा अघि बढिरहेकाले कोरियाली लगानीकर्ताहरूलाई सूचना प्रविधि, प्राविधिक शिक्षा र नवप्रवर्तनका क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरे। नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै सभामुख अर्यालले दुई देशका सांसदहरूबीच अनुभव आदानप्रदान र संस्थागत सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने धारणा समेत राखे।

सभामुख अर्यालले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सहजीकरण गरिदिन आग्रह गर्दै नेपाल वायुसेवा निगमको सिधा सिओल उडान सञ्चालनका लागि पनि सकारात्मक भूमिका खेल्न कोरियाली सरकारसँग अनुरोध गरे । नेपाल र कोरियाबीचको सम्बन्ध सरकार–सरकारमा मात्र सीमित नरही जनस्तरमा समेत आत्मीय रूपमा विस्तार हुँदै गएको उनको भनाइ थियो । राजदूत पार्कले नेपाललाई दक्षिण कोरियाले विश्वसनीय विकास साझेदारका रूपमा हेरेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारीका क्षेत्रमा सहकार्य निरन्तर अगाडि बढिरहेको बताए । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत हालसम्म करिब एक लाख २० हजार नेपालीले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेको तथा करिब ५० हजार नेपाली अहिले पनि त्यहाँ कार्यरत रहेको जानकारी उनले दिए ।

नेपाली श्रमिकले कोरियाको उत्पादनमूलक र कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै राजदूत पार्कले श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानप्रति कोरिया सरकार संवेदनशील रहेको बताए । विदेशबाट फर्किएका नेपालीलाई पुनःस्थापना, सीप विकास र उद्यमशीलतामा जोड्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।

नेपालमा कोरियाली लगानी क्रमशः विस्तार भइरहेको उल्लेख गर्दै उनले विशेषगरी ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको बताए । रसुवामा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत् आयोजना करिब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी वर्षदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको जानकारी उनले दिए । हरित ऊर्जा, स्वच्छ प्रविधि र कार्बन ट्रेडिङका क्षेत्रमा समेत कोरियाली व्यवसायी नेपालमा लगानी विस्तार गर्न इच्छुक रहेको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको