स्वतन्त्र सांसद महावीर पुनले उपसभामुख पदप्रति आफूलाई कुनै रुचि नभएको स्पष्ट पारेका छन्। मन नलाग्दै सांसद बनेको उल्लेख गर्दै उनले उपसभामुख बन्ने कुनै योजना नरहेको बताएका हुन्।
आज सभामुख चयनपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले आफू सांसदका रूपमा भने सशक्त ढंगले प्रस्तुत हुने बताए। साथै, बिदाको दिनमा किताब बेच्ने आफ्नो कार्यलाई निरन्तरता दिने योजना रहेको पनि उनले जानकारी दिए। यसैबीच, उनले गृहमन्त्री सुदन गुरुङले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरेका छन्।
उपसभामुखमा तपाईं अघि बढ्नु हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनेका छन् ,‘नबढौं, नबढौं । त्यस्तो खाने मान्छे होइन म । सांसद पनि बल्ल बल्ल भएको छु । मन नलाग्दा नलाग्दै भएको हुँ । उपसभामुखजस्तो औपचारिक पद सम्हालेर बस्ने मान्छे म होइन । राजनीतिको कुरामा मलाई मतलब छैन,तर देश विकासको कुरामा मेरो प्रस्तुति राम्रो हुन्छ । मानौं संसद वैठक बसेन, कुनै चाडपर्व भयो, बिदा भयो, शनिबार विदा भइहाल्छ, यस्तो यस्तो समयमा किताब बेच्ने हो । म एउटा चोकमा दिनभरि बसे भने एक दिनमै सयौं किताब बेचिदिन्छु । एकदम राम्रो गरेको छ, ठोक्नुपर्छ । भाइबन्दी गर्नुहुँदैन । दबाबमा काम गर्नु हुँदैन । पहिलेका गृहमन्त्रीले कारवाही गर्न खोजे पनि प्रमुख नेताहरुको दबाबमा गर्न सक्थेनन् । अहिलेको गृहमन्त्री राम्रो काम गर्नुपर्यो । ठोकेकै राम्रो हुन्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस