नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनले निजी क्षेत्रमा नयाँ बहस र उत्साह पैदा गरेको छ। यसै क्रममा एसोसिएटतर्फको कार्यकारिणी सदस्य पदमा युवा उद्यमी जश श्रेष्ठले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। वर्तमान उपाध्यक्ष ज्योत्सना श्रेष्ठको प्यानलबाट चुनावी मैदानमा उत्रिएका जशलाई व्यावसायिक समुदायले एक अध्ययनशील र दूरदर्शी नेतृत्वका रूपमा लिएको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालको समूहमा रहेका उनी अनुभवी र नयाँ पुस्ताबीचको सेतु बन्ने अपेक्षा गरिएको छ।
जश श्रेष्ठको व्यावसायिक पृष्ठभूमि र सक्रियता बहुआयामिक छ। उनी हाल जे ए ग्रुप नेपाल प्रालिका कार्यकारी निर्देशक हुन् भने भिस्टा नेपाल, हिमालयन बोधि स्पाइसेज र हिमालयन बोधि इन्टरनेशनल ट्रेड जस्ता संस्थाहरूको नेतृत्व गरिरहेका छन्। उनको व्यावसायिक दख्खल जलविद्युत र बैंकिङ क्षेत्रसम्म फैलिएको छ। नेशनल हाइड्रोपावर कम्पनी सहित नबिल र कुमारी बैंकमा उनको प्रवर्द्धक सेयर लगानीले उनको आर्थिक क्षेत्रप्रतिको गहिरो लगाव र बुझाइलाई प्रष्ट पार्छ। केवल व्यवसायमा मात्र सीमित नभई उनी नेपाल युवा उद्यमी मञ्च (NYEF) ललितपुरको पूर्व कार्यकारी सदस्यका रूपमा संस्थागत नेतृत्वमा समेत खारिइसकेका छन्।
उनको शैक्षिक योग्यताले उनलाई अन्य उम्मेदवारभन्दा पृथक र बौद्धिक रूपमा सबल देखाउँछ। थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए र स्पेनबाट मार्केटिङमा स्नातकोत्तर गरेका जशले भारतको प्रख्यात बिशप कटन स्कुल र काठमाडौं विश्वविद्यालयबाट प्रारम्भिक र उच्च शिक्षा हासिल गरेका छन्। अन्तर्राष्ट्रिय स्तरमा जी–२० युवा उद्यमी सम्मेलनमा नेपालको प्रतिनिधित्व गरिसकेका उनले २०२४ मा दुबईमा 'अन्तर्राष्ट्रिय उत्कृष्टता अवार्ड' समेत प्राप्त गरेका छन्। विदेशमा सहज अवसर हुँदाहुँदै पनि स्वदेशमै केही गर्ने अठोटका साथ नेपाल फर्किएका जशलाई व्यवसायीहरूले एक इमानदार र ऊर्जावान् युवा पात्रका रूपमा लिएका छन्।
महासंघको यो निर्वाचनमा जशको उम्मेदवारीलाई केवल पद प्राप्तिको होड भन्दा पनि निजी क्षेत्रमा नयाँ सोच र पारदर्शिता भित्र्याउने प्रयासका रूपमा हेरिएको छ। वर्तमान उपाध्यक्ष एवं रत्न तथा आभूषण संघकी पूर्व अध्यक्ष ज्योत्सना श्रेष्ठको परिपक्व नेतृत्व र जश जस्ता युवाको जोशले महासंघलाई थप समावेशी र गतिशील बनाउने विश्वास व्यवसायीहरूले गरेका छन्। पारिवारिक व्यावसायिक विरासत र आफ्नै पौरखले स्थापित जशको आगमनले आगामी दिनमा महासंघको नीतिगत पैरवी र युवा उद्यमशीलता प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस