लिड्स युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउँदै प्रिमियर लिगमा रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ । ओल्ड ट्राफोर्डमा नोहा ओकाफोरले पहिलो हाफमा २ गोल गर्दै लिड्सलाई महत्वपूर्ण जित दिलाए ।
यो जितसँगै लिड्स रेलिगेसन क्षेत्रभन्दा ६ अंकले अगाडि पुगेको छ । दोस्रो हाफमा कासेमिरोले हेडरमार्फत गोल फर्काएपछि भने खेलको अन्त्य केही तनावपूर्ण बन्यो । खेलको तेस्रो मिनेटमै डोमिनिक काल्भर्ट लेविनले गोल गर्ने राम्रो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । त्यसपछि पाँचौं मिनेटमा ओकाफोरले लेनी योरोको कमजोर हेड क्लियरेन्सको फाइदा उठाएर गोल गर्दै लिड्सलाई अग्रता दिलाए ।
२९ औं मिनेटमा ओकाफोरले बक्स बाहिरबाट भली गर्दै दोस्रो गोल थपे। पहिलो हाफको अन्त्यतिर नजिकिँदै गर्दा आओ तनाकाको प्रहार लिसान्द्रो मार्टिनेजले गोललाइनबाट क्लियर गरे । तर ५६औँ मिनेटमा मार्टिनेजले काल्भर्ट लेविनको कपाल तानेको भन्दै भिएआर समीक्षा पछि सिधै रातो कार्ड पाए युनाइटेड १० खेलाडीमा सीमित भयो ।
त्यसपछि ६९ औं मिनेटमा कासेमिरोले ब्रुनो फर्नान्डेजको क्रसमा हेडर गोल गर्दै अन्तर घटाए । खेलको ८५औँ मिनेटमा कासेमिरोको अर्को हेडर भने गोललाइनबाट काल्भर्ट लेविनले क्लियर गरे । उनले म्यानुएल उगार्तेको रिबाउन्ड प्रहार पनि ब्लक गरे । युनाइटेडले लिग तालिकाको तेस्रो स्थानमा बलियो हुने अवसर गुमाएको छ । यो जितसँगै लिड्सले सन् २००२ सेप्टेम्बरपछि पहिलो पटक युनाइटेडलाई लिगमा हरायो । साथै ओल्ड ट्राफोर्डमा १९८१ पछि पहिलो पटक जित निकाल्दै १८ खेलको जितविहीन यात्रा पनि अन्त्य गर्यो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस