सनराइजर्स हैदराबादले उत्कृष्ट प्रदर्शन गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) विजयी हासिल गरेको छ । हैदराबादले राजस्थान रोयल्स (आरआर) लाई ५७ रनले पराजित गरेको हो ।
यो पाँचौ खेलमा राजस्थानको पहिलो हार हो । यो सँगै उसको अपराजित यात्रामा पनि पूर्ण विराम लागेको छ । हैदराबादले दिएको २१७ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रनमै समेटियो । हैदराबादका लागि इशान किशनले ९१ रनको उत्कृष्ट इनिङ्स खेले। ४४ बलमा उनले ८ चौका र ६ छक्का प्रहार गरे। हाइनरिक क्लासेनले २६ बलमा ३ छ्क्का र १ चौकासहित ४० रन जोडे । नितिश कुमार रेड्डीले २८, सलिल अरोराले नटआउट २४ र ट्रभिस हेडले १८ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।
बलिङतर्फ हैदराबादका प्रफुल हिङ्गे र साकिब हुसैनले घातक प्रदर्शन गर्दै टोलीलाई जित दिलाए। २४ वर्षीय विदर्भका बलर हिङ्गेले आइपिएल डेब्युमा नै इतिहास रचे। उनले आफ्नो पहिलो ओभरमै ३ विकेट लिँदै लिगको १८ वर्षे इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो बलर बने।
उनको पहिलो शिकार बने वैभव सूर्यवंशी, जो गोल्डेन डकमा आउट भए। त्यसपछि अर्को बलमै हिङ्गेले उत्कृष्ट लयमा रहेका ध्रुव जुरेललाई बोल्ड गराए। पहिलो ओभरको अन्तिम विकेटका रूपमा लुआन्ड्रे प्रेटोरियसलाई लङ लेगमा क्याच गराउँदै उनले आफ्नो जादुमय सुरुआत पूरा गरे। हिङ्गेले मात्र होइन, अर्का डेब्यु खेलाडी साकिब हुसैनले पनि सानदार बलिङ गर्दै ४ विकेट लिए । दुबै युवा बलरको आक्रामक बलिङका कारण राजस्थान ५ रनमै ४ विकेट गुमाउँदै संकटमा परेको थियो।
केही समयमै स्कोर ९ रनमा ५ विकेट पुगेपछि खेल लगभग हैदराबादको पक्षमा गइसकेको थियो। राजस्थानका लागि डोनाभान फरेराले अर्धशतक बनाए । ४४ बलमा उनले ७ चौका र ३ छक्कासहित ६९ रन जोडे। रविन्द्र जडेजाले ३२ बलमा ५ चौकासहित ४५ रन र तुसार देशपांडे २५ रन बनाए । दुबै डेब्यु बलरले मिलेर ८ विकेट लिँदै राजस्थानको ब्याटिङ लाइनअप ध्वस्त पारे। हिङ्गेको ऐतिहासिक डेब्यु र किशनको उत्कृष्ट ब्याटिङको मद्दतले हैदराबादले लगातार दुई हारपछि सानदार जित निकाल्न सफल भयो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस