गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्ध सरकारले अघि बढाएको कारबाही कुनै पनि हालतमा नरोकिने र नडगमगाउने स्पष्ट सन्देश दिएका छन्। पछिल्लो समय सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले राष्ट्रको सम्पत्तिमा आँखा लगाउने समूह अहिले त्रसित भएर विभिन्न हल्ला र मिडिया ट्रायलमा लागेको आरोप लगाएका छन्।
गृहमन्त्री गुरुङका अनुसार वर्षौंदेखि राष्ट्रको ढुकुटीमा जनताको रगत–पसिनाबाट संकलित रकममा नजर गाड्नेहरू अहिले कारबाहीको डरले छटपटीमा छन्। उनले यस्ता गतिविधिलाई प्रायोजित हल्ला र नियोजित मिडिया ट्रायलको रूपमा व्याख्या गर्दै यसले सरकारको अभियानलाई प्रभावित गर्न नसक्ने बताएका छन्।
उनले स्पष्ट रूपमा भनेका छन् कि भ्रष्टाचारविरुद्धको कदम कुनै पनि दबाब, प्रभाव वा हल्लाका आधारमा रोकिने छैन। “मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल छटपटी मात्र हुन्,” भन्दै उनले सरकारको अभियान दृढताका साथ अघि बढिरहेको उल्लेख गरेका छन्।
गुरुङले ठूलो परिमाणमा भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि समेत निगरानी र अनुसन्धान तीव्र बनाइएको दाबी गरेका छन्। दैनिक रूपमा ठूला आर्थिक अनियमिततामा संलग्न समूहविरुद्ध कारबाही प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ।
यसअघि आफ्नो नाम जोडेर फैलाइएका विभिन्न आरोपप्रति पनि गृहमन्त्रीले स्पष्टीकरण दिएका थिए। उनले आफ्नो सम्पत्ति विवरणमा दुई करोडभन्दा बढी सेयर लगानी खुला रूपमा उल्लेख गरिएको भन्दै “सेयर लुकाइएको” भन्ने आरोप असत्य भएको बताएका छन्। लगानी बैंकिङ प्रणालीमार्फत् गरिएको, कर्जा लिएर गरिएको र त्यसको प्रमाण अभिलेखमा स्पष्ट रहेको उनको दाबी छ।
त्यस्तै, एउटै कम्पनीमा धेरै सेयरधनी रहने भएकाले त्यसलाई “विवादित व्यक्तिसँग साझेदारी” भनेर व्याख्या गर्नु गलत भएको उनले उल्लेख गरेका छन्। उनले सम्बन्धित विषयको छानबिन अर्थ मन्त्रालयअन्तर्गतको निकायबाट भइरहेको र आफूले कुनै हस्तक्षेप नगरेको पनि बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस