काठमाडौं महानगरपालिकाले अव्यवस्थित रूपमा सञ्चालन भइरहेका यात्रुवाहक सवारीसाधनलाई व्यवस्थापन गर्न कडा कदम अघि सारेको छ। महानगरले लामो तथा छोटो दूरीका सबै सवारीलाई नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न ३ दिनको अन्तिम समयसीमा तोकेको छ।
यसअघि चैत २५ गते सार्वजनिक सूचना जारी गर्दै सबै सवारीलाई बसपार्कभित्रबाट एकीकृत रूपमा सेवा दिन आग्रह गरिएको थियो। तर केही यातायात कम्पनीहरूले उक्त निर्देशन पालना नगरेपछि महानगरले पुनः कडाइ गरेको हो। कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अबको तीन दिनभित्र सबै कम्पनीलाई अनिवार्य रूपमा एकीकृत प्रणालीमा समेटिन निर्देशन दिएकी छन्।
यातायात व्यवस्थापन र सहरी सुरक्षालाई प्रभावकारी बनाउन महानगरले नेपाल प्रहरीसँग सहकार्य गर्दै संयुक्त टोली परिचालन गर्ने तयारी गरेको छ। यसका लागि महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई समन्वय गरेर एकीकृत कार्ययोजना बनाउने र कडा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ।यससँगै महानगरले अन्य सहरी समस्यातर्फ पनि ध्यान दिएको छ। ठमेललगायत क्षेत्रमा रात्रिकालीन व्यवसायबाट हुने ध्वनि प्रदूषण, स्पा केन्द्रहरूमा हुने अवाञ्छित गतिविधि तथा होस्टेल सञ्चालनसम्बन्धी समस्याबारे उजुरी प्राप्त भएको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिएकी छन्।
अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले सहरी सुरक्षाका लागि जनशक्तिभन्दा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए। त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडक सङ्केत र अनुशासन पालना गराउन महानगर र ट्राफिक प्रहरीबीच निरन्तर समन्वय आवश्यक रहेको बताए।
प्रहरीको तथ्याङ्कअनुसार काठमाडौंबाट दैनिक औसत ७०० वटा सार्वजनिक यातायातका साधन बाहिरिने गरेका छन्। तर, तीमध्ये झन्डै ५० प्रतिशत (करिब ३५० वटा) सवारीसाधनले बसपार्क बाहिरै पार्किङ गर्ने र यात्रु चढाउनेरओराल्ने गरेको पाइएको छ। हाल नयाँ बसपार्कबाट दैनिक करिब ३४० वटा गाडी मात्र औपचारिक रूपमा आउजाउ गर्छन् । नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ, जहाँ एकैपटक ७५० वटा सवारीसाधन व्यवस्थापन गर्न सकिने क्षमता छ। महानगरले यसै क्षमताको पूर्ण उपयोग गर्दै सडकको चाप घटाउने लक्ष्य राखेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस