काठमाडौं महानगरपालिकाले केही सहकारी संस्थाहरूलाई बहालमा लिएका घर, कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न कडा निर्देशन दिएको छ। महानगरको न्यायिक समितिको निर्णय कार्यान्वयन गर्दै कानून तथा मानव अधिकार विभागले सम्बन्धित सहकारी संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा सदस्यहरूलाई तोकिएको अवधिभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।
महानगरका अनुसार निर्धारित समयभित्र सम्बन्धित पक्ष सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार बहालमा लिइएका सम्पत्तिहरू अनिवार्य रूपमा खाली गराइनेछ। साथै, खाली गराउने क्रममा कार्यालयका सामग्रीहरू सम्बन्धित घरधनीको जिम्मामा राखिने र त्यसपछि ती सामग्रीबारे कुनै पनि दाबी वा विरोध स्वीकार नगरिने स्पष्ट पारिएको छ।
निर्देशनको दायरामा सत्कार सहकारी संस्था लिमिटेड, अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, हिराखुशी बहुउद्देश्यीय सहकारी संस्था, मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था, नवल सवल बचत तथा ऋण सहकारी संस्था तथा पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लगायतका संस्थाहरू परेका छन्।
महानगरले न्यायिक समितिबाट भएका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्रममा सहकारी संस्थालाई लक्षित गर्दै उक्त सूचना जारी गरेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस