यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा विद्यार्थीहरूलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। हालै विभागले यातायात व्यवसायी तथा सम्बन्धित निकायहरूलाई परिपत्र जारी गर्दै उक्त सहुलियत कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ तथा साझा यातायात सहकारी संस्था लिमिटेडलाई पठाइएको पत्रमा विभागले विद्यार्थीहरूले पाउने कानुनी अधिकारको पूर्ण पालना गर्न स्मरण गराएको छ। इन्धनको मूल्य वृद्धि भएपछि केही सार्वजनिक सवारी साधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढ्दै गएको विभागले जनाएको छ। ‘हेलो सरकार’ तथा गुनासो पेटिकामार्फत ४५ प्रतिशत छुट नपाएको भन्दै विद्यार्थीहरूबाट उजुरीहरू आउने गरेको पनि उल्लेख गरिएको छ।
सार्वजनिक सवारीका चालक तथा सहचालकले विद्यार्थी परिचयपत्र देखाउँदा समेत छुट दिन अस्वीकार गर्ने र दुर्व्यवहार गर्ने घटना बढेपछि विभागले यस विषयमा पुनः ध्यानाकर्षण गराएको हो। विभागले पत्रमा सरकार र यातायात व्यवसायीबीच २०६५ फागुन २० गते भएको सहमतिलाई स्मरण गराउँदै सोही निर्णयअनुसार विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत छुट पाउँदै आएको स्पष्ट पारेको छ। विभागका अनुसार, परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन अस्वीकार गर्ने कुनै पनि सवारी साधनमाथि कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस