यातायात व्यवस्था विभागले नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्का गर्ने निर्णय गर्नुअघि नै प्रतीतपत्र खोलिसकेका सवारी साधनहरू दर्ता गर्न दिने निर्णय गरेको छ । विभागले सातवटै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरू र देशभरका स्थानीय तहहरूलाई परिपत्र जारी गर्दै यससम्बन्धी जानकारी गराएको हो ।
विभागले यसअघि २०८३ जेठ ७ गते (२०८३/०२/०७) पत्र पठाई अर्को सूचना जारी नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्का गर्ने निर्णय गरेको थियो ।तर उक्त निर्णय हुनुअघि नै आयातको प्रक्रिया अगाडि बढाइसकेका व्यवसायीहरूको सहजताका लागि विभागले नयाँ व्यवस्था गरेको दाबी गरेको छ ।
विभागका प्राविधिक निर्देशक मणिराम भुसालले हस्ताक्षर गरेको विज्ञप्तिमा जेठ ८ गते वा सोभन्दा अगाडि नै प्रतीतपत्र खोलिसकेका सार्वजनिक सवारी साधनका हकमा यो व्यवस्था लागू हुनेछ । सम्बन्धित आयातकर्ता कम्पनीले सो समयभन्दा अगाडि नै प्रतीतपत्र खोलेको प्रमाण र आवश्यक कागजातहरू पेस गरेमा दर्ता प्रक्रिया अगाडि बढाउन सकिने विभागले जनाएको छ । यसैगरी, नेपाल भित्रिइसकेका सार्वजनिक सवारी साधनहरूको हकमा पनि आवश्यक कागजातहरू जाँचबुझ गरी विवरण अनुरूप देखिएमा दर्ता गर्न कुनै बाधा नपर्ने विभागको निर्णयमा उल्लेख छ ।
विभागले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी मन्त्रालयहरू र सबै स्थानीय तहहरूलाई यो निर्णय कार्यान्वयनका लागि अनुरोध गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस