चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा फाइनान्स कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा ७० करोड रुपैयाँ भन्दा बढीको नाफा कमाएका हुन् ।
चालु आर्थिक वर्षको ९ महिनामा फाइनान्स कम्पनीहरुले ७० करोड ४० लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । कम्पनीहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७१.२२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सो अवधिमा फाइनान्स कम्पनीहरुले १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ कम्पनीको नाफा ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ३ कम्पनी मात्रै ऋणात्मक देखिएको छ । ऋणात्मक रहेको कम्पनीहरुले समेत गत आवको तुलना ऋणात्मक भार घटाएका छन् ।
यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा मञ्जुश्री फाइनान्स रहेको छ । यस कम्पनीले यो अवधिमा नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७.९३ प्रतिशतले बढेर २१ करोड ८९ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको गोर्खाज फाइनान्स अहिले भने घनात्मक रहेको छ । ९ महिनाको अवधिमा कम्पनीको नाफा १२ करोड ९४ लाख ७४ हजार रुपैयाँ पुगेको हो ।
यता, आईसीएफसि फाइनान्सको मुनाफा ४७ प्रतिशतले घटेर १० करोड ३१ लाख रुपैयाँ पुगेको छ । गुडबिल फाइनान्सले सर्वाधिक नाफा वृद्धि गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको नाफ ५६५ प्रतिशतले बढेर १० करोड १३ लाख रुपैयाँ पुगेको हो ।
समिक्षा अवधिमा पोखरा फाइनान्सको नाफा १.५२ प्रतिशतले बढेर ७ करोड ३० लाख, बेष्ट फाइनान्स गत वर्षको ९ महिनामा ७ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ५ करोड ८७ लाख रुपैयाँ ऋणात्मक देखिएको हो । समिक्षा अवधिमा गुहेश्वरी मर्चेन्टको नाफा ४ करोड ५५ लाख, रिलायन्स फाइनान्सको ३ करोड ७९ लाख, सेन्ट्रल फाइनान्सको ३ करोड ६९ लाख, श्रीइन्भेष्टमेन्ट फाइनान्सको २ करोड ५३ लाख, मल्टिप्रपोज फाइनानसको ५३ लाख र समृद्धि फाइनान्सको ७ लाख रुपैयाँ रहेको हो । ३ कम्पनीको नाफा भने ऋणात्मक रहेको छ । प्रोगेशिभ फाइनान्स २ करोड ४७ लाख, जानकी फाइनान्स २ करोड ९० लाख र नेपाल फाइनान्स ७ करोड ८६ लाख रुपैयाँ नाफा ऋणात्मक रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस