पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार उनीसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका–७ माझठानामा चार ठाउँमा फैलिएको करिब २८ रोपनी जग्गा रहेको छ।
उक्त जग्गा उनले २०५२ सालमा पदम पुनसँग मिलेर करिब ४ लाख रुपैयाँमा खरिद गरेका हुन्। यसको स्रोत अमेरिकाबाट फर्किँदा बचेको आफ्नै कमाइ भएको उनले उल्लेख गरेका छन्। हाल यो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको भए पनि अझै बिक्री हुन सकेको छैन।
पुनसँग रहेको करिब तीन तोला सुन २०६० सालतिर किनिएको हो। यसको स्रोत भने श्रीमतीलाई इष्टमित्रले उपहारस्वरूप दिएको उल्लेख गरिएको छ।
बैंक मौज्दाततर्फ नेपाल बैंक लिमिटेडमा करिब ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा करिब २५ लाख रुपैयाँ रहेको उनले जनाएका छन्। नेपाल बैंकमा रहेको रकम व्यक्तिगत खर्चका लागि साथीहरूबाट प्राप्त भएको हो भने राष्ट्रिय वाणिज्य बैंकमा रहेको रकम प्रतिनिधि सभा निर्वाचनका क्रममा सहयोगीहरूले दिएको चन्दाबाट बचेको रकम हो। उक्त रकम म्याग्दीको बेनीमा रहेको सम्पर्क कार्यालय सञ्चालनमा खर्च गर्ने योजना उनले बताएका छन्।
यसका साथै, आफ्नो आत्मकथा पुस्तकबाट हालसम्म करिब २ लाख ५० हजार प्रति बिक्री भएको र त्यसबाट आएको सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि नेपाल बैंक लिमिटेडमा जम्मा गरिएको उनले जानकारी दिएका छन्।
पुनले यी बाहेक आफूसँग कुनै ऋण, सवारी साधन, कृषि वा पशुधन लगायत अन्य सम्पत्ति नभएको स्पष्ट पारेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस