एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । संस्थाले आज सूचना जारी गरेर योग्य उम्मेद्वारबाट आवेदन मागेको हो ।
कम्पनीले व्यवस्थापकीय श्रेणीको प्रमुख कार्यकारी अधिकृत पदमा एक जनाका लागि दरखास्त आह्वान गरेको हो । तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मिति (वैशाख १७ गते) ले १५ दिनभित्र आवेदन दिनु पर्नेछ । आवेदकको नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाका सीईओका लागि तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनु पर्नेछ । साथै बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संस्थामा कम्तीमा १० वर्षको अनुभव र व्यवस्थापकीय तह वा सोभन्दा माथि कम्तीमा ३ वर्षको अनुभव आवश्यक रहनेछ । लघुवित्त क्षेत्रमा काम गरेका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
उमेर हद ३५ वर्ष पूरा भई आवेदन दिने मितिसम्म ५८ वर्ष ननाघेको हुनु पर्नेछ भने पारिश्रमिक आपसी समझदारीमा तय गरिने उल्लेख गरिएको छ । नियुक्त व्यक्तिले काभ्रेपलाञ्चोकको बनेपास्थित कर्पोरेट कार्यालयमा रही काम गर्नु पर्नेछ । आवेदन दिंदा हालसालैको फोटो, नागरिकताको प्रतिलिपि, शैक्षिक तथा अनुभव प्रमाणपत्र, दुई जना सिफारिसकर्ताको विवरण, विस्तृत बायोडाटा तथा स्वघोषणा पत्र संलग्न गर्नुपर्नेछ। साथै ५ हजार रुपैयाँ दरखास्त दस्तुर एनआईसी एशिया बैंकको बनेपा शाखास्थित खातामा जम्मा गरी भौचर पेश गर्नु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस