Like us!
Follow us!
Connect us!
Watch us!

लिपुलेकबारे भारतको स्पष्टीकरण– कैलाश यात्रा दशकौँदेखि यही मार्गबाट

अर्थ संसार

सोमबार, २१ बैशाख २०८३, ०७ : ४६ मा प्रकाशित

लिपुलेकबारे भारतको स्पष्टीकरण– कैलाश यात्रा दशकौँदेखि यही मार्गबाट

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन हुने विषय सार्वजनिक भएपछि नेपाल र भारतबीच सीमा विवाद पुनः चर्चामा आएको छ । यस विषयमा नेपालले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेपछि भारतले पनि प्रतिक्रिया दिएको हो ।

भारतको परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै लिपुलेक मार्ग सन् १९५४ देखि कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको दाबी गरेको छ । भारतका आधिकारिक प्रवक्ताले उक्त मार्ग नयाँ विकास नभई दशकौँदेखि सञ्चालनमा रहेको बताएका छन् ।

भारतले आफ्नो वक्तव्यमा लिपुलेक मार्गमार्फत यात्रा सञ्चालन लामो समयदेखि निरन्तर चलिरहेको उल्लेख गर्दै यसलाई पुरानै अभ्यासको निरन्तरता भएको जनाएको छ । साथै, सीमा सम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित हुनुपर्ने भन्दै एकतर्फी रूपमा भूभाग विस्तारको दाबी स्वीकार्य नहुने धारणा पनि राखेको छ ।

भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्व दिँदै बाँकी रहेका सीमा समस्याहरू संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न तयार रहेको समेत जनाएको छ ।

यसअघि नेपाल सरकारले पनि छुट्टै विज्ञप्ति जारी गर्दै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको स्पष्ट दोहोर्‍याएको थियो । परराष्ट्र मन्त्रालयले सन् १८१६ को सुगौली सन्धिअनुसार उक्त भूभाग नेपालकै भएको उल्लेख गर्दै भारतीय पक्षलाई यस विषयमा आफ्नो स्पष्ट असहमति जानकारी गराइएको जनाएको थियो ।

नेपालले भारतीय पक्षलाई नेपाली भूमि हुँदै कुनै पनि प्रकारको सडक निर्माण, विस्तार, सीमा व्यापार वा तीर्थयात्रा सञ्चालन नगर्न निरन्तर आग्रह गर्दै आएको पनि स्मरण गराएको छ । साथै, चीनलाई समेत लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा औपचारिक जानकारी गराइसकिएको मन्त्रालयले जनाएको छ ।

नेपालले सीमा समस्या समाधानका लागि ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक संवादमार्फत अघि बढ्नुपर्ने अडान दोहोर्‍याएको छ ।

69f7fdf84ff00.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको