हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा भारी गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो ।
वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकम्मको अवधिमा २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको नाफा ४४.६६ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७१ प्रतिशतले वृद्धि हुँदै ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो कोष ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो ६.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष खुद बीमाशुल्क आर्जन १ अर्ब २१ करोड ८३ लाख रुपैयाँ थियो। बीमा शुल्क आम्दानीमा भएको वृद्धिले कम्पनीको बजार पहुँच र व्यवसायिक गतिविधि विस्तार भएको देखाउँछ ।
कम्पनीको कुल आम्दानी १७ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ रहेको छ भने कुल खर्च १६ अर्ब ९० करोड २३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै अभिकर्तालाई दिइने कमिसन खर्च ५.७३ प्रतिशतले बढेर १ अर्ब ४ करोड ३० लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ६.८९ रुपैयाँबाट घटेर ३.८१ रुपैयाँ कायम भएको छ भने प्रसिेयर नेटवर्थ १००.४५ रुपैयाँ कायम भएको छ ।
जगेडा कोष ४१.७४ प्रतिशतले बढेर ९९ करोड ६३ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष ७० करोड २९ लाख रुपैयाँ रहेको थियो। महाविपत्ति कोष पनि वृद्धि हुँदै ४६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस