अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा विगतदेखि नै अस्वाभाविक अंक राख्ने प्रवृत्ति रहेको भन्दै अब त्यसलाई सच्याउने बताएका छन् । प्रतिनिधिसभा अर्थ समितिको बैठकमा उनले सरकारले हाल साढे १९ खर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरे पनि वास्तविक खर्च क्षमता भने करिब १६ खर्ब रुपैयाँ मात्रै रहेको बताए ।
उनका अनुसार बजेट निर्माणमा यथार्थभन्दा बाहिर गएर ठूलो अंक राख्ने परिपाटीका कारण यस्तो अवस्था सिर्जना भएको हो । विशेषगरी पूँजीगत खर्चतर्फ वार्षिक रूपमा करिब २ खर्ब रुपैयाँ मात्रै खर्च हुने गरेको उल्लेख गर्दै उनले यस्तो खर्चले मुलुकले देखेका विकासका सपना पूरा गर्न नसकिने बताए । त्यसैले आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको उनको भनाइ थियो ।
चालु आर्थिक वर्षका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको सिलिङ निर्धारण गरिएको जानकारी दिँदै उनले स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको स्वीकार गरे । राजस्वबाट करिब १३ खर्ब रुपैयाँ मात्रै जुट्न सक्ने अवस्था रहेको र बाँकी करिब ७ खर्ब रुपैयाँको स्रोत व्यवस्थापन नै मुख्य चुनौती बनेको उनले बताए ।
यसैबीच, चालु आवमा विनियोजित बजेटको खर्च बढाउन सरकारले ‘इमर्जेन्सी मोड’मा काम गरिरहेको पनि उनले जानकारी दिए । असार मसान्तसम्म पूँजीगत खर्च अहिलेसम्मकै उच्च हुने उनको अनुमान छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस