काठमाडौंको बुढानिलकण्ठ स्थित गणेश चोकमा अवस्थित सब्रिना होटल लिमिटेड अब विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोर (Accor) को लाइफस्टाइल ब्रान्ड ‘ट्राइब’ (TRIBE) को नामबाट सञ्चालनमा आउने भएको छ। यस ऐतिहासिक साझेदारीका सम्बन्धमा सब्रिना होटल लिमिटेडले मे २२ मा होटल परिसरमै पत्रकार सम्मेलन आयोजना गरी औपचारिक जानकारी दिएका हुन्।
यसअघि सब्रिना होटल र ट्राइब होटलबीच भारतको राजधानी नयाँ दिल्लीमा औपचारिक सम्झौता मे १४ मा सम्पन्न भइसकेको छ। यो सम्झौतासँगै बुढानिलकण्ठको उक्त होटल अब ‘Tribe Kathmandu’ को नामबाट सञ्चालन हुनेछ, जुन ट्राइब ब्रान्डको दक्षिण एसियाकै पहिलो प्रोजेक्ट हो। हाल पाँचतारे होटलको रूपमा अपग्रेड भइरहेको यस होटलमा आधुनिक यात्रु र विशेष गरी युवा पुस्तालाई लक्षित गरी स्मार्ट डिजाइन र जीवन्त सामाजिक स्पेस प्रदान गरिनेछ।
स्तरोन्नति पश्चात होटलमा औसत ३० वर्गमिटर आकारका ११० वटा सुविधासम्पन्न कोठाहरू रहनेछन्। होटलमा कुल ५ वटा उत्कृष्ट रेस्टुरेन्टहरू रहने छन्, जसमध्ये रुफटपमा रहने रेस्टुरेन्ट काठमाडौं सहरकै सबैभन्दा ठूला रुफटप रेस्टुरेन्टहरूमध्ये एक हुने दाबी गरिएको छ। साथै कर्पोरेट तथा सामाजिक कार्यक्रमका लागि सुविधासम्पन्न बैंक्वेट र मिटिङ रुमहरुका साथै आधुनिक स्विमिङ पुल, अत्याधुनिक जिम र स्पा लगायतका स्वास्थ्य तथा मनोरञ्जनका सुविधाहरू समेत उपलब्ध हुनेछन्। रणनीतिक रुपमा अवस्थित यो होटल काठमाडौं विमानस्थलबाट १० किलोमिटरभन्दा कमको दूरीमा छ भने पर्यटकीय केन्द्र ठमेल र शिवपुरी नेशनल पार्कको समेत नजिक पर्दछ।
४७ करोडभन्दा बढीको आईपीओ निष्कासन तयारी व्यावसायिक विस्तारसँगै सब्रिना होटल लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा यसअघि नै आवेदन दिइसकेको छ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँबाट बढाएर १ अर्ब २२ करोड रुपैयाँ कायम गरेको छ। नयाँ व्यवस्था अनुसार कुल पुँजीमध्ये ७४ करोड ९६ लाख रुपैयाँ संस्थापक समूहको रहनेछ भने बाँकी ४७ करोड ४ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीले एभेरष्ट बैंकमार्फत् ९० करोड कर्जा लिई लगानी गरेको छ । हाल विश्वभर ट्राइब ब्रान्डका २७ वटा होटलहरू सञ्चालनमा छन् भने थाइल्यान्ड, इन्डोनेसिया र कम्बोडिया लगायतका एसियाली देशपछि यो ब्रान्डले नेपालमा आफ्नो उपस्थिति जनाएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस