Like us!
Follow us!
Connect us!
Watch us!

१२ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय, कुनको व्यवसाय कति ?

अर्थ संसार

बुधबार, १३ जेठ २०८३, ११ : ४१ मा प्रकाशित

१२ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय, कुनको व्यवसाय कति ?

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

विवरण अनुुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १२.०६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए । कम्पनीहरुले आफ्नो बीमा व्यवसायलाई उल्लेख्य मात्रामा बृद्धि गराएका छन् । कुल बीमा शुल्क आर्जनको आधारमान नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् भने बृद्धिदरका आधारमा आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ अगाडि रहेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय १२.५१ प्रतिशतले बृद्धि गर्दै ४१ अर्ब १६ करोड ६६ लाख रुपैयाँ पुगाउँन सफल भएको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा १०.६१ प्रतिशतले बढाएर १९ अर्ब २ करोड रुपैयाँ र एलआइसी नेपालले ८.१४ प्रतिशतले बढाएर १६ अर्ब ८४ करोड २८ लाख रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ब्यवसाय ५.५२ प्रतिशतले बढेर १४ अर्ब ५५ करोड ५२ लाख, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको १६.४३ प्रतिशतले बढेर १० अर्ब ९ करोड, सूर्यज्योति लाइफको ११.४७ प्रतिशतले बढेर ९ अर्ब ५० करोड ९० लाख, एशियन लाइफको १२.२५ प्रतिशतले बढेर ८ अर्ब १ करोड ५२ लाख, सिटिजन्स लाइफको १९.४९ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड र सानिमा रिलायन्स लाइफको १२ प्रतिशतले बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको हो ।

यता, आइएमई लाइफको ब्यवसाय सर्वाधिक ३१.३० प्रतिशतले बढेर ५ अर्ब ५० करोड २६ लाख रुपैयाँ पुगेको हो । बैशाख मसान्तसम्मको अवधिमा मेट लाइफको कुल बीमा शुल्क आर्जन १०.२८ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड, रिलायबल नेपाल लाइफको १९.१३ प्रतिशतले बढेर ४ अर्ब ९४ करोड, प्रभु महालक्ष्मी लाइफको १४.५९ प्रतिशतले बढेर ४ अर्ब ७० करोड र सन नेपाल लाइफको ३.८८ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको