स्नो रिभर्स लिमिटेड ले आफ्नो साधारण सेयर निष्काशनको दोस्रो चरण सुरु गर्ने भएको छ। कम्पनीले बैशाख २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि सेयर बिक्री खुला गर्ने तयारी गरेको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणलाई अवसर दिन लागिएको हो।
कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता तथा विदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेका नेपालीका लागि ९३ हजार ७५० कित्ता सेयर छुट्याएर बाँडफाँट सम्पन्न भइसकेको छ।
यससँगै सामूहिक लगानी कोषका लागि ४६ हजार ८७५ कित्ता र कर्मचारीका लागि १८ हजार ७५० कित्ता सेयर पनि वितरण भइसकेको कम्पनीले जनाएको छ।
दोस्रो चरणअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागेको हो। यसको कुल रकम ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबर हुन्छ।
यो सेयरमा आवेदन दिन न्यूनतम १० कित्ता अनिवार्य गरिएको छ भने अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ। निष्काशन छिटोमा जेठ १ गते बन्द हुनेछ भने आवश्यक परेमा जेठ १२ गतेसम्म लम्बिन सक्नेछ।
कम्पनीले १३ दशमलव ५ मेगावाट क्षमताको ‘सुपर काबेली खोला ए’ जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ। आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोडभन्दा बढी रहेको देखिन्छ।
कम्पनीको वित्तीय अवस्थाको मूल्याङ्कन गर्दै इक्रा नेपाल ले ‘डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीमा लगानी गर्दा मध्यम स्तरको जोखिम रहने संकेत गर्दछ।
सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेड ले सम्हालेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस